सम्मानित एलेक्सा लाइफ साइन्सेसको गुनासो : १९ वर्षदेखि मूल्य समायोजन नहुँदा स्लाइन उद्योग संकटमा

विराटनगर । स्वदेशमै औषधिजन्य वस्तु उत्पादन गरी आयात प्रतिस्थापनमा योगदान पुर्याएको भन्दै मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित एलेक्सा लाइफ साइन्सेस प्रालिलाई उद्योग संगठन मोरङले सम्मान गरेको छ ।
तर, उद्योगले भने सरकारले २०६४ सालयता स्लाइनको अधिकतम खुद्रा मूल्य (एमआरपी) समायोजन नगर्दा उत्पादन नै संकटमा परेको चेतावनी दिएको छ।
उद्योग संगठन मोरङको ३३औँ वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले कम्पनीका निर्देशक रन्जित भगतलाई कदरपत्र तथा दोसल्ला प्रदान गर्दै सम्मान गरेका हुन् ।
स्वदेशमै गुणस्तरीय स्लाइन उत्पादन गरी आयातमा निर्भरता घटाउन योगदान पुर्याएको भन्दै उद्योगलाई सम्मान गरिएको संगठनले जनाएको छ ।
एलेक्सा लाइफ साइन्सेस स्वदेशमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार स्लाइन उत्पादन गर्ने नेपालकै दोस्रो उद्योग हो। उद्योगले हाल १०० एमएलदेखि ३००० एमएलसम्मका विभिन्न आकारका मासिक करिब ९ लाख बोतल स्लाइन उत्पादन गर्ने क्षमता राखेको छ ।
स्वदेशी उत्पादनले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढाउनुका साथै विदेशी मुद्रा बाहिरिनबाट जोगाउन महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उद्योगको प्रशंसा गरिएको छ ।
सम्मानसँगै उद्योगले भने सरकारी मूल्य नीतिका कारण स्वदेशी औषधि उद्योग धराशायी हुने अवस्थामा पुगेको जनाएको छ । उद्योगी दिनेश ठाकुरका अनुसार नेपालमा २०६४ सालमा निर्धारण गरिएको स्लाइनसहित केही औषधिको अधिकतम खुद्रा मूल्य अहिलेसम्म पुनरावलोकन गरिएको छैन ।
उनले बजारको वास्तविक लागतअनुसार मूल्य समायोजन नहुँदा अत्यावश्यक औषधि उत्पादन गर्ने उद्योगहरूले लागतसमेत उठाउन नसकेको बताए ।
उनका अनुसार स्लाइन उत्पादनमा प्रयोग हुने प्लास्टिक दाना, प्याकेजिङ सामग्रीलगायत कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा दोब्बरभन्दा बढी बढिसकेको छ । तर, सरकारले २०६४ असार १० गतेको मन्त्रीस्तरीय निर्णयबाट तोकेको मूल्यमै उत्पादन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
ठाकुरले अहिले उद्योगसँग रहेको कच्चा पदार्थले करिब एक महिनासम्म मात्रै उत्पादन धान्न सक्ने उल्लेख गर्दै सरकारले तत्काल मूल्य समायोजन नगरे उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
हाल नेपालमा तीनवटा स्वदेशी र पाँचवटा विदेशी कम्पनीले स्लाइन आपूर्ति गर्दै आएका छन् । स्वदेशी उद्योगलाई सम्मान मात्रै नभई व्यावहारिक नीति, समयानुकूल मूल्य समायोजन र संरक्षण आवश्यक रहेको उद्योगीहरूको भनाइ छ । उनीहरूले सरकारी उदासीनताका कारण जीवनरक्षक औषधि उत्पादन गर्ने उद्योगहरू गम्भीर संकटमा पर्दै गएको बताएका छन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22084, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








