चवन्न हजारलाई टाइफाइडको खोप दिइने

चवन्न हजारलाई टाइफाइडको खोप दिइने

जुम्ला, ६ पुस । जुम्ला जिल्लाका आठवटै स्थानीय तहका लक्षित जनसङ्ख्याको १६ देखि ४५ वर्ष उमेर समूहका करिब ५४ हजार छ सय ३५ जनालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।

सो खोपलाई अभियानका रूपमा सञ्चालन गर्नेबारे जिल्लास्तरीय बैठक तथा अन्तक्र्रिया कार्यक्रममा जानकारी दिँदै जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले भने, “जिल्लामा पहिलो चरणमा यही पुस ८ देखि १० गतेसम्म कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा टाइफाइडविरुद्धको खोप अभियान गरिने छ ।”

दोस्रो चरणमा पुस ११ देखि १३ गतेसम्म चन्दननाथ, पातारासी, गुठीचौर, तिला र तातोपानी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने उनले बताए । यसका लागि एक सय २० खोप कार्यकर्ता परिचालन हुने भएका छन् । दुईसय ४० स्वयम्सेवक र तीन सय वटा खोप सेसन रहेका छन् । खोप लगाउन छनोट भएका तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।

कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, दैलेख, जुम्ला, सल्यान, कालीकोट र सुर्खेत जिल्लामा पनि खोप अभियान सञ्चालन हुने भएको छ । सोह्र वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइडको खोप दिन लागिएको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डाक्टर पुरुषोत्तम सेडाइले जानकारी दिए । जाजरकोट र रुकुम पश्चिममा दादुरा र रुबेलाको खोप पनि दिइने कार्यक्रम छ । खोपका कारण बाल–मातृ मृत्युदर नेपालमा घट्दो अवस्थामा रहेको विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा सेडाइको भनाइ थियो ।

पछिल्लो समयमा टाइफाइडका बिरामी नेपालमा बढ्दो अवस्थामा रहेको छ । सरकारले राष्ट्रियस्तरमै सञ्चालन गरेको खोप अभियानलाई सफल बनाउनदेखि खोप सञ्चालन हुने स्थानमा शान्ति सुरक्षा कायम गर्न प्रशासन लागिपर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिसस प्रमुख गौरीनन्द आचार्यले जिल्लाका ग्रामीण भेगसम्म रहेका खोप केन्द्रसम्म सहजरूपमा खोप पु¥याउन स्थानीय तहदेखी जिल्लाका सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए । राज्यले जनताका लागि लगानी गरेको खोपलाई सुरक्षितरुपमा व्यवस्थापन गर्न र आमजनताको पहुँचसम्म पुग्नका लागि सचेतनाका कार्यक्रमलाई विशेष जोड दिनुपर्ने उनको भनाइ थियो । रासस

यो पनि पढ्नुहोस् :  नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   2   =