कुष्ठरोगबाट बालबालिका बढी प्रभावित हुँदै

राँझा (बाँके), २२ माघ । बाँकेमा कुष्ठरोगबाट १४ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुँदै गएको पाइएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म भेटिएका नयाँ बिरामीमा १३ जना १४ वर्ष मुनिका बालबालिका रहेको स्वास्थ्य कार्यालय बाँकेका कुष्ठ स्रोत व्यक्ति रवीन्द्रकुमार शाहले जानकारी दिए ।
“बाँकेमा सबै स्वास्थ्य संस्थाबाट सङ्कलन गरिएको तथ्याङ्कअनुसार पछिल्लो समय कुष्ठरोगबाट बालबालिका प्रभावित भएको पाइएको हो”, उनले भने, “खुला सिमानाका कारण बाँकेबाट छिमेकी मुलुक भारतमा बढी आवतजावत हुने भएकाले कुष्ठ रोगको जोखिम घट्न सकेको छैन ।”
सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकाले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
बाँकेको जानकी गाउँपालिकामा आइएनएपले सञ्चालन गरेको साइनिङ अस्पतालमा चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा ६० नयाँ कुष्ठरोगी फेला परेका छन् । तीमध्ये २९ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल चौधरीले जानकारी दिए ।
उनका अनुसार साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ ।
“कुष्ठरोग प्रकोप दर घटेको छैन, गत वर्ष पनि छ महिनाको तथ्याङ्कमा ५१ जना नयाँ बिरामी फेला परेकामा २५ जना बाँकेकै थिए”, प्रमुख चौधरीले भने, “लुम्बिनी प्रदेशमै बाँके दोस्रो उच्च जोखिममा रहेको छ ।”
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले समाजमा अझै पनि कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको जनाउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत छाला रोग विशेषज्ञ डा आरके झाले कुष्ठरोगको रोकथाम र उपचार सम्भव रहे पनि सबैमा जनचेतना पुग्न नसक्दा समाजमा अझै धेरै रोगी लुकेर रहेको बताए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का
खेलकुद२०८३ असार ६, शनिबार ०९:१४विश्वकप फुटबलः ब्राजिलद्वारा हाइटी पराजित









