विहीबारदेखि पोखरामा नवौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग, विजेता टिमलाई माल्दिभ्स जाने अवसर

पोखरा । नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिग २०८२ जेठ ८ गते विहीबारदेखि १५ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने भएको छ।
संघले पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा नेपालकै अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीसहितको भलिबल लिग आयोजना गर्न लागेको हो।
पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिता ९० लाख रुपैयाँको लागतमा आयोजना गर्न लागिएको जानकारी दिए। “गत वर्षको लिगमा सहभागी टिमहरूबीच नै यस पटकको नवौं प्रधानमन्त्री कप लिग आयोजना गरिएको हो,” अध्यक्ष चन्दले भने, “१० औं राष्ट्रिय खेलकुदको तयारी, प्रायोजकको अभाव लगायतका कारण छनोट प्रतियोगिता गर्न सम्भव नभएपछि हामीले यही निर्णय गरेका हौं।”
प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। पुरुष तर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटवल सहभागी हुनेछन्। महिला तर्फ नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब बुटवल र कर्णाली प्रदेशको टिमले सहभागिता जनाउनेछन्।
भलिबल संघले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरको बनाउन प्रत्येक टिमलाई ३ जना विदेशी खेलाडी सहभागी गराउने व्यवस्था मिलाएको छ। संघका अनुसार विदेशी अनुभवी खेलाडीहरूसँगको प्रतिस्पर्धाबाट नेपाली खेलाडीको स्तर उकासिने विश्वास गरिएको छ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद ८ लाख, ४ लाख र २ लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार नगद पुरस्कार पाउने छन्। साथै उत्कृष्ट लिब्रो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र टिम प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
संघका उपाध्यक्ष यमबहादुर गुरुङका अनुसार प्रतियोगिताका सहभागी सम्पूर्ण खेलाडीहरूको दुर्घटना विमाको व्यवस्था गरिएको छ।
संघले भलिबललाई व्यवसायिकरण गर्दै युवापुस्तालाई खेलप्रति आकर्षित गर्न रणनीति अनुसार काम गर्दै आएको उल्लेख गर्दै उपाध्यक्ष गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता वृद्धि गर्दै प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गरिरहेको बताए।
प्रतियोगिता सम्पन्न गर्न संघले राष्ट्रिय खेलकुद परिषद्, शिवम् सिमेन्ट, राष्ट्रिय वाणिज्य बैंक, केल्मी नेपाल, कृषि विकास बैंक र लोमस फार्मास्युटिकल्स प्रा. लि. लगायतका प्रायोजकहरूको सहयोग प्राप्त गरेको छ।
यस्तै, मिडिया पार्टनरको रूपमा हाम्रो खेलकुद डट कम, मेडिकल पार्टनर चरक मेमोरियल अस्पताल र इन्टरनेट पार्टनर वर्ड लिङ्गले सहयोग गरेका छन्। स्थानीय तहबाट गण्डकी प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति कास्की, टाइगर ग्रुप अफ पोखरा, गण्डकी प्रदेश भलिबल संघ र कास्की जिल्ला भलिबल संघको विशेष सहकार्य रहेको छ।
गत संस्करणमा पुरुषतर्फ हेल्प नेपालले तथा महिलातर्फ नेपाल प्रहरीले उपाधि जितेका थिए। यस संस्करणको विजेता टिमले आगामी जुलाईमा माल्दिभ्समा हुने काभा च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18289, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १६:३८जीएमसीको साथमा ‘मिडिया कप फुटसल’
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ८, सोमबार १२:२३भिटोफ गण्डकीद्वारा होमस्टे व्यवस्थापन तालिम
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म







