विजय केरुङकोे निर्देशनमा ‘परिवर्तन’ सुशील र अञ्जनाको जोडी

विजय केरुङकोे निर्देशनमा ‘परिवर्तन’ सुशील र अञ्जनाको जोडी


काठमाडौँ।
नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ चलचित्र ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन् । ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ, जसले कानुन प्रतिको कर्तव्य र प्रेम प्रतिको दायित्वबिचको सङ्घर्ष भोग्दै जान्छ । यो चलचित्रले नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको काला सञ्जाल, र गरिब, दुखी तथा असहाय जनताको पीडादायी यथार्थलाई देखाउने छ ।

चलचित्रमा पछिल्लो समयका डिमान्डेड कलाकारहरू अञ्जना बराइली र सुशील श्रेष्ठ प्रमुख भूमिकामा देखिने छन् । ‘आउटल: दफा २१९’बाट एक्सन अभिनेताको रूपमा पुनरागमन गरेका सुशील श्रेष्ठको लागि निर्देशक केरुङले ‘परिवर्तन’ अर्को माइलस्टोन साबित हुने दाबी गरेका छन् । त्यस्तै, ‘महापुरुष’, ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता सफल चलचित्रहरूमा अभिनय गरेकी अञ्जना बराइलीको अर्को प्रतीक्षित चलचित्र ‘महाभोज’ पनि चाँडै रिलिज हुँदैछ । यस चलचित्रमा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।

दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् । उनी विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल युवा व्यवसायीका साथै समाजसेवामा सक्रिय व्यक्ति हुन् । समाज परिवर्तनका पक्षपाती सिवाकोटीले सामाजिक मुद्दालाई सशक्त माध्यम चलचित्रमार्फत उठान गर्ने उद्देश्यले यो चलचित्र निर्माणमा हात हालेका हुन् । सिवाकोटीले नै चलचित्रको कथा लेखेका हुन् ।

चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् । अधिकारीले यसअघि ‘सिलसिला’, ‘दशगजा’, ‘रावायण’, ‘यो मन त मेरो नेपाली हो’ जस्ता दर्जनौँ चर्चित चलचित्रहरू लेखेका थिए । यो चलचित्रले समाजमा देखिने कर्तव्य र भावना बिचको द्वन्द्व, एक प्रहरीको इमानदारी र मानवीय मूल्यहरूको टकराबलाई समेट्ने अधिकारीले बताए ।

यो पनि पढ्नुहोस् :  यसबर्षको धेरै कमाइ गर्ने दक्षिण भारतीय फिल्म बन्यो 'पेद्दी'

छायाङ्कन निर्देशन शिव ढकालले, सम्पादन भूपेन्द्र अधिकारीले, द्वन्द्व निर्देशन श्री श्रेष्ठले, नृत्य निर्देशन कमल राईले तथा पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गर्नेछन् । निर्देशकको सहायकका रूपमा नवराज शर्मा रहनेछन् भने प्रोडक्सन हेड अरुण रेग्मी हुन् ।

‘परिवर्तन’ चलचित्रको छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ । ‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि.सं. २०२८ सालमा चलचित्र निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   9   =