पोखरा–१२ को सार्वजनिक सुनुवाइः विकासमा प्रशंसा, सेवा प्रवाहमा गुनासा

पोखरा ।पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए ।शितलादेवी युवा क्लबका पूर्व अध्यक्ष सुरज श्रेष्ठले खेलकुदका लागि टुक्रे बजेटभन्दा दीर्घकालीन योजना बनाउन आग्रह गरे ।
‘युवा लक्षित कार्यक्रम भैरहेका छन् । तर टुक्रे कार्यक्रम धेरै भए,’ उनले भने, ‘अलि देखिने गरी योजना तय गरौं । सबैलाई समेटेर उत्कृष्ट काम गर्न वडासँग मेरो आग्रह छ ।’ शितलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र पुष्पसदन एकेडेमीका प्राचार्य भीम न्यौपानेले शिक्षाको गुणस्तर बढाउन सफ्टवेयर (तालिम, संस्कार) मा लगानी बढाउन सुझाए ।
यस्तै, वडाभित्रका स्कुलबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गर्न र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गर्न उनीहरुको आग्रह छ ।डा. कृष्णप्रसाद पौडेलले अमरसिंह माविको चौरमा हुने राजनीतिक कार्यक्रम र सेती नहरमा बढ्दो प्रदूषण नियन्त्रणबारे वडाको ध्यानाकर्षण गराए ।
नेकपा माओवादीका अध्यक्ष श्रीकान्त अधिकारीले योजनाहरुमा देखिने बेरुजुको कारण खोजे । उनले अमरसिंह मावि अगाडिको टहरा विवादबारे पनि प्रश्न उठाएका थिए । स्थानीय अनिता पोख्रेलले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम बनाउन वडासँग आग्रह गरेकी छिन् । उनले पार्कहरूमा बढ्दो विकृति नियन्त्रण गर्न सुझाव दिइन् ।
सहभागीहरूले जीर्ण बनेका काठका पोल विस्थापन, हस्पिटल चोकदेखि माछापोखरीसम्म फुटपाथ निर्माण र सरस्वती स्कुल चोकमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरण गर्न पनि माग गरे ।
प्रश्न र गुनासामा जवाफ दिँदै वडाध्यक्ष सन्तोष बास्तोलाले नागरिकका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बेरुजुको समस्या सरकारी र बजार दररेटको भिन्नताले आएको जानकारी दिए ।
तर वडामा बेरुजुको मात्रा न्यून रहेको उनको भनाई छ । अमरसिंह स्कुलको टहरा विवाद छिटै समाधान हुने उनले सुनाए ।‘यो विषय अदालतबाट टुंगिसकेको छ । अब व्यवस्थापन समितिले छिट्टै निर्णय नगरे वडाले कानुनी रूपमा अघि बढ्छ,’ उनले भने ।
बास्तोलाले युवा क्लब र महिला समूहले ठोस योजना ल्याएमा बजेट अभाव नहुने स्पष्ट पारे । ‘हामी लगानी गर्न तयार छौं । तर त्यसले साँच्चिकै जीवनस्तर परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरू योजना लिएर आउनुहोस् । उपयुक्त काममा वडाले लगानी गर्छ ।
पैसाको अभाव हुँदैन ।’कार्यक्रममा धेरै सहभागीले सामुदायिक कुकुरको नियन्त्रणमा वडाको ध्यानाकर्षण गराएका थिए । जवाफमा वडाध्यक्ष बास्तोलाले ‘डग होस्टेल’को अवधारणा अघि बढाइएको बताए । ‘महानगरपालिकाले नै साउनदेखि डग होस्टल चलाउने भनेको छ ।
अब कुकुरलाई त्यहाँ लगिन्छ,’ उनले भने, ‘तर जथाभावि कुकुरलाई दिशा गराउने र दुर्गन्ध फैलाउनेलाई टोल विकास संस्थाले पनि निगरानी गर्नुस् ।’वडामा आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टरनेट र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रम वडाले सञ्चालन गरेको बास्तोलको भनाई छ । उनले विकास निर्माण र सेवा प्रवाहमा सबैलाई समान व्यवहार गरिएको र कुनै पनि काम तथ्य र तथ्यांकमा आधारित भएरै हुने गरेको दाबी गरे ।
कार्यक्रममा उठेका गुनासालाई सम्बोधन गर्दै उनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिन वडा समिति कटिबद्ध रहेको प्रतिबद्धता जनाए ।कार्यक्रममा वडा सचिव शारदा सापकोटाले चालू वर्षमा वडाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।
पोखरा १२ले चालू वर्षमा कुल ३ करोड ३ लाख ५८ हजारको बजेट कार्यान्वयन गरेको छ । उनले वडा कार्यालयको सेवा प्रवाह र कर्मचारी प्रशासनसँग जोडिएका प्रश्नको जवाफ दिइन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक सर्वेक्षण प्रतिवेदनले वडाको मिश्रित अवस्था देखाएको छ ।
प्रतिवेदनअनुसार अधिकांश सेवाग्राही कर्मचारीको व्यवहार र जनप्रतिनिधिको जवाफदेहिताप्रति सन्तुष्ट देखिए पनि सामुदायिक कुकुर तथा छाडा चौपाया नियन्त्रण, फोहोर व्यवस्थापन, कार्यालयमा पार्किङको अभाव, अनलाइन सेवाको ढिलासुस्ती र योजना वितरणमा सबै टोललाई समान दृष्टीले नहेरेको जस्ता गुनासा नागरिकले राखेका छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18883, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन १९, सोमबार १६:४९कांग्रेस केन्द्रीय सदस्यमा सुदर्शन शर्मा : ‘व्यक्ति होइन, विचारको बहस गरौँ’
समाचार२०८३ आश्विन १८, आईतवार १५:०५कास्की आइडल–२ को सेमिफाइनल सम्पन्न, गायन र नृत्यतर्फ १०–१० जना फाइनलमा
समाचार२०८३ आश्विन १८, आईतवार ११:१५आप्रवासी स्रोत केन्द्रका परामर्शकर्मीलाई तनाव व्यवस्थापन तालिम
समाचार२०८३ आश्विन ७, बुधबार १४:४१दलित अधिकार तथा विकास विधेयकमाथि पोखरामा सुझाव संकलन








