भ्रमण वर्ष २०२५ मनाउँदै पोखरा: पहिलो छ महिनामा ५.७७ लाख पर्यटक, तर लक्ष्य चुनौतीपूर्ण

पोखरा । सन् २०२५ को पहिलो छ महिनामा नेपालमा ५ लाख ७७ हजार ६८९ विदेशी पर्यटक आएका छन्। यो संख्या अघिल्लो वर्षको सोही अवधिको ५ लाख ८३ हजार ११ भन्दा केही कम हो।
नेपाल पर्यटन परिषद्ले सन् २०२४ मा आएका ११ लाख ४७ हजार ५४८ पर्यटकलाई आधार मान्दै सन् २०२५ मा १० प्रतिशतले वृद्धि गर्ने लक्ष्य राखेको थियो। तर हालसम्मको आगमन दर हेर्दा त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ।
केवल जुन महिनामै ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन्, जुन सन् २०२४ को जुन महिनाको ७६ हजार ३३३ र सन् २०१९ को ७४ हजार ८८३ भन्दा केही बढी हो।
पर्यटक आगमनमा सबैभन्दा धेरै हिस्सा भारतीय पर्यटक (३२,६६२) को रहेको छ। त्यसपछि अमेरिकी (९,६९६) र चिनियाँ (६,७३६) पर्यटकको उपस्थिति उल्लेखनीय छ।
सन् २०१९ को पहिलो छ महिनामा ५ लाख ७३ हजार ६५८ पर्यटक नेपाल आएका थिए। त्योसँग तुलना गर्दा सन् २०२५ मा थोरै सुधार देखिए पनि अपेक्षित दरमा वृद्धि नभएको विज्ञहरूले बताएका छन्।
नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेका अनुसार, पर्यटक आगमनमा अपेक्षित वृद्धि नहुनुका कारणमा महँगो हवाई भाडा, कमजोर अन्तर्राष्ट्रिय प्रवद्र्धन, बुटवल–नारायणगढ सडकको खराब अवस्था र विश्वव्यापी अस्थिरता रहेका छन्।
नेपाल पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पनि १० प्रतिशत वृद्धि हासिल गर्न सहज नहुने बताए। ‘पर्यटन क्षेत्रको गति बढाउन हवाई भाडा सस्तो हुनुपर्छ, यातायात पूर्वाधार व्यवस्थित हुनुपर्छ र अन्तर्राष्ट्रिय प्रवद्र्धन प्रभावकारी हुनुपर्छ,’उनले भने।
सरकार र निजी क्षेत्रबीच समन्वय गर्दै सस्तो र सहज हवाई सेवा, प्रभावकारी प्रवद्र्धन, र भौतिक पूर्वाधारको सुधार नगरेसम्म पर्यटनमा दोहोरो अंकको वृद्धि दर हासिल गर्न कठिन हुने विज्ञहरूको निष्कर्ष छ।
विशेष गरी भारतबाट आउने पर्यटक संख्या बढाउने रणनीति अवलम्बन गर्न सके नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18935, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार ७, आईतवार ०१:०५सौराहबाट जाउँ है पोखरा अभियान सुरु
समाचार२०८३ असार ६, शनिबार १३:०२संघीयतामा आमसञ्चार र संसदीय-अदालती रिपोर्टिङ अभिमुखीकरण पोखरामा सुरु
समाचार२०८३ असार ६, शनिबार ०८:४७फालिएकाे पत्रिकाको दोस्रो जीवन : ‘पोख्रेली सिसाकलम’
समाचार२०८३ असार ६, शनिबार ०५:१६खानेपानी माग्दै होटलकर्मी खानेपानी संस्थानमा






