नवनियुक्त प्रधानमन्त्री कार्की: ‘निडर स्वभाव र सरल जीवनशैलीको पर्याय’

काठमाडौँ- पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राख्नुभएको छ ।
सर्वोच्च अदालतकोे पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रच्नुभएकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल हुनुभएको हो ।
जेनजी समूहको आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकाङ्क्षाबमोजिम राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा उहाँलाई प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो ।
प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उहाँले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गर्नुभएको छ ।
विसं २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उहाँले विसं २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गर्नुभएको थियो । उहाँले विसं २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गर्नुभयो ।
विसं २०४५ देखि २०४७ सालसम्म उहाँले कोशी अञ्चल बारको अध्यक्ष तथा विसं २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बन्नुभयो । विसं २०६१ पुस ५ गते उहाँले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, २०६५ माघ ९ गते उहाँ सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त हुनुभयो । विसं २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बन्नुभयो ।
संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसक्नुभएकी उहाँ नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा निपुण हुनुहुन्छ । निडर स्वभाव र सरल जीवनशैली उहाँको पहिचान हो । उहाँले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हाल्नुभएको थियो ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ७, आईतवार १४:३६चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ७, आईतवार १३:०८महाधिवेशन स्थलमा ‘रास्वपा हेल्थ डेक्स’ सञ्चालन
समाचार२०८३ असार ६, शनिबार २१:३६ज्वालामूखीको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित, ५७ करोड ९० लाख बजेट विनियोजन
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान








