माछापुच्छ्रेमा ‘मुनाल भलिबल कप’ प्रचारार्थ मैत्रीपूर्ण खेल सम्पन्न

पोखरा । माछापुच्छ्रे गाउँपालिका–१ पिपरमा जैविक विविधता संरक्षण र पर्यावरणीय पर्यटन प्रवर्द्धनका लागि ‘मुनाल भलिबल कप’ प्रचारार्थ मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भएकाे छ ।
आगामी वर्ष सन् २०२६ मा आयोजना हुने मुनाल भलिबल कपको पूर्वतयारीको रूपमा मैत्रीपूर्ण खेल भएकाे हाे । यस खेलमा स्थानीय समुदाय, शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूले सक्रिय सहभागिता जनाए ।
भलिबल प्रतियोगितामा भुपु खेलाडी, कर्मचारी, शिक्षक, जनप्रतिनिधि र ए क्याप्सिएमसीबीच उत्साहपूर्ण पहिलो खेलमा भुपु खेलाडीले जनप्रतिनिधिलाई २५–१६, २५–१३ ले पराजित गरे भने दोस्रो खेलमा कर्मचारीले भुपु खेलाडीलाई २५–२३ र २५–२३ को नतिजासहित हराए।
तेस्रो खेलमा भुपु खेलाडी ए ले ए क्याप्सिएमसीलाई २५–२३, १९–२५ र १५–७ ले पराजित गरे। फोर्थ खेलमा कर्मचारीले शिक्षकलाई २५–२३ र २५–१५ को स्पष्ट नतिजासहित जित्दा, फाइनलमा कर्मचारीले भुपु खेलाडीलाई २५–१० र २५–२० ले हराउँदै प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्यो।
कार्यक्रम विश्व कालिज संघ (WPA), Biocos नेपाल, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP), माछापुच्छ्रे गाउँपालिका र ग्रेट माछापुच्छ्रे ट्रेलको संयुक्त सहयोगमा भएकाे हाे ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले खेलकुद, पर्यटन र संरक्षणलाई एउटै अभियानको रूपमा अघि बढाउने योजना रहेको बताए। स्थानीय तह, संस्थाहरू र समुदायबीच सहकार्यले मात्रै संरक्षणलाई दीर्घकालीन बनाउन सकिने उनकाे विश्वास छ । अध्यक्ष गुरुङले पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केपलाई विश्वस्तरमा चिनाउने पनि पालिकाको लक्ष्य रहेको जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकाका सबै नौ वडामा छुट्टाछुट्टै पर्यटकीय सम्भावना रहेकाे र यस्ता कार्यक्रमले संरक्षण र पर्यटन प्रवर्द्धनमा समुदायलाई सक्रिय बनाउने बताईन् ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. १ का अध्यक्ष इन्द्र गुरुङले सन् १९७२ देखि पिपर क्षेत्रमा विभिन्न चराचुरुङ्गी र कालिज प्रजातिको अध्ययन हुँदै आएको बताए । अहिले पनि विश्व कालिज संघसँग सहकार्यमा संरक्षण गतिविधि जारी रहेकाे उनकाे भनाई छ । उनका अनुसार स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने र खेलकुदमार्फत संरक्षण तथा पर्यटनलाई सँगसँगै अघि बढाउने लक्ष्य राखिएको छ।
पिपर क्षेत्र सन् १९७६ देखि फेजेन्ट प्रजातिका लागि विशेष क्षेत्रको रूपमा परिचित छ। यहाँ हिमालयन फेजेन्टका छ प्रजातिहरू पाइन्छन्। Biocos नेपालका अध्यक्ष लक्ष्मण प्रसाद पौडेलले खेलकुदजस्ता सामाजिक माध्यमहरूले संरक्षणबारे जनचेतना फैलाउन ठूलो भूमिका खेल्ने बताए ।
मुनाल भलिबल कपको नाममै संरक्षणको सन्देश छ। डाँफे, मुनाल र कालिज जस्ता प्रजातिहरू नेपालको राष्ट्रिय पहिचान भएकाले स्थानीय तहले खेलकुदमार्फत संरक्षण चेतना फैलाउने उद्देश्यसहित यो अभियान सुरु गरेको हो। Biocos नेपालका निर्देशक पारस विक्रम सिंहका अनुसार खेलकुदले मानिसहरूमा जैविक विविधताप्रतिको जिम्मेवारीबोध जगाउने माध्यमको रूपमा काम गर्छ।
मुनाल भलिबल कप–२०२६ अन्तर–वडा स्तरमा आयोजना हुने छ। प्रत्येक टिममा ९ खेलाडी रहने छन्, जसमा ३ जना राष्ट्रिय स्तरका खेलाडी र बाँकी स्थानीय बासिन्दा रहने व्यवस्था छ। विजेताले नगद तीन लाख, उपविजेताले दुई लाख र तृतीयले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीका लागि विशेष पुरस्कार पनि तोकिएको छ।
खेलसँगै स्थानीय झाँकी प्रदर्शन र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो। यसले स्थानीय संस्कृति र खेलकुदको प्रदर्शन सुनिश्चित गर्यो। दशैं–तिहारअघि आयोजना गरिएको यस कार्यक्रमले संरक्षण, संस्कृति र पर्यटनलाई एउटै अभियानमा जोड्ने उद्देश्य पूरा गरेको छ।
पिपर फेजेन्ट कन्जर्भेशन ल्याण्डस्केप माछापुच्छ्रे गाउँपालिकाको जैविक सम्पदाको केन्द्रबिन्दु हो। यहाँ डाँफे, मुनाल, कालो भालु, कस्तुरी मृग र ध्वाँसे चितुवा जस्ता दुर्लभ जनावरहरूको वासस्थान रहेको छ। खेलकुदमार्फत यहाँ संरक्षण र पर्यटनको सन्देश प्रत्यक्ष रूपमा समुदायसम्म पुर्याइएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19781, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







