चलचित्र ‘मन बिनाको धन’ कतारमा दैनिक दुई सो हाउसफुल

काठमाडौँ। बालगायक अशोक दर्जी अभिनित चलचित्र ‘मन बिनाको धन’ नेपालभरका हलमा दोस्रो हप्तासम्म सफलतापूर्वक प्रदर्शन भइरहेका बेला यसले विदेशमा पनि उत्कृष्ठ व्यापार गर्न सुरु गरेको छ। नेपाली बक्स अफिसमा फिल्मले पहिलो सातामै एक करोड ६७ लाखभन्दा बढी कमाई गर्दै बलियो सुरुआत गरिसकेको छ।
नेपालसँगै चलचित्र कतार, युएई र बहराइनमा पनि बिहीबारदेखि प्रदर्शन भइरहेकामा, विशेषगरी कतारमा बिहीबार र शुक्रबार दुवै दिनका दुई–दुई सो हाउसफुल भएको वितरकले जानकारी दिएका छन्। कतारमा दैनिक दुई सो हाउसफुल हुने पहिलो नेपाली चलचित्र ‘मन बिनाको धन’ नै भएको दाबी गरिएको छ।
कतार, युएई र बहराइन क्षेत्रमा फिल्म वितरणको जिम्मा हरि मोक्तान, कृष्ण भट्टराई र साथीभाई इन्टरटेन्मेन्टले लिएका छन्। उनका अनुसार युएई र बहराइनमा पनि चलचित्रले उत्साहजनक व्यापार र सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
निकट भविष्यमा चलचित्र साउदी अरब, कोरिया लगायतका देशहरूमा पनि प्रदर्शनमा आउने तयारी भइरहेको बताइएको छ।
नेपालमा प्रदर्शनको पहिलो दिनदेखि नै अधिकांश हलहरूमा हाउसफुल व्यापार गरिरहेको फिल्मले दर्शकको मन जितिरहेको देखिन्छ।
अशोक दर्जीको वास्तविक जीवनमाथि आधारित कथा भएकाले फिल्मले भावनात्मक प्रभाव जमाएको छ। राजधानीका हलहरूमा अशोकलाई भेट्ने धेरै दर्शक भावुक बनेका, रुँदै अँगालो हाल्ने दृश्यहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
फिल्म हेर्न विद्यार्थीदेखि अभिभावकसम्म हलबाट रुँदै निस्किएको दृश्य देखिएको छ भने धेरैले टिकट नपाएको गुनासो पनि सामाजिक सञ्जालमा राखेका छन्।
चलचित्रमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रको कथा निर्माता तथा निर्देशक टंक बुढाथोकीले लेखेका हुन् भने पटकथा–संवाद शिवम अधिकारीले तयार पारेका हुन्। टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको यस फिल्मकी निर्मातामा विष्णुमाया मैनाली, कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) छिन्। उक्त फिल्मका सह–निर्मातामा जी.पी. सङ्ग्रोला, विवेक नेपाल र बिजया पाण्डे छन्। चलचित्रका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकी रहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ११, बिहीबार १२:२९जाल्पादेवी महिला उद्धार समूहको २८औँ साधारण सभा तथा तीज विशेष कार्यक्रम सम्पन्न
समाचार२०८३ भाद्र ११, बिहीबार ०६:४२बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा
समाचार२०८३ भाद्र १०, बुधबार २१:३०बाढीपीडितका लागि ज्वालामूखीका कर्मचारीले सात दिनको तलब सहयोग गर्ने
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी









