‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक

काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आउन लागेको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ। बसन्त पञ्चमीको शुभ अवसरमा शुक्रबार सार्वजनिक गरिएको ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी गीत निर्माण कम्पनी फिल्म रेञ्जको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
घर, माया र आत्मीयताको भाव बोकेको गीतले दर्शकको मन छुने विश्वास निर्देशक सुदीप भुपाल सिंहले व्यक्त गरेका छन्। गीतमा निर्देशक सिंहकै शब्द रचना रहेको छ भने संगीत रञ्जित गजमेरको रहेको छ। भावनात्मक गीतलाई गायक शिव परियारको सुमधुर स्वरले अझ सशक्त बनाएको छ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने यात्रामा देखिन्छन्। यात्राका क्रममा देखिने उतार–चढाव, सम्झना र भावनालाई गीतमार्फत कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
गीतले सिनेमाको विशुद्ध पारिवारिक कथावस्तुको झल्को दिनुका साथै फरक स्वादको मनोरञ्जनको अनुभूति गराउने निर्माण टिमको दाबी छ। यस सिनेमाबाट निर्देशक सुदीप भुपाल सिंह करिब ७ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन्। यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता चर्चित सिनेमा निर्देशन गरिसकेका छन्।
पछिल्लो समय सामाजिक–पारिवारिक कथामा आधारित सिनेमा दर्शकमाझ लोकप्रिय बन्दै गइरहेको सन्दर्भमा ‘श्री बुकुरो’ पनि दर्शकको रोजाइमा पर्नेमा निर्देशक सिंह आशावादी छन्। यसअघि सार्वजनिक टिजर र पोस्टरले नै सकारात्मक चर्चा बटुलिसकेको सिनेमा, गीतमार्फत पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण पक्षको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमामा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय रहेको छ।
सिनेमाको लेखन निर्देशक सिंह स्वयंले गरेका हुन् भने निर्माण रुबी सेन सिंहले गरेकी हुन्। सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन तथा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ।
मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमामा सहायक निर्देशकका रूपमा किशोर भट्ट, कुलदीप शर्मा र प्रेम खतिवडा रहेका छन्। सिनेमाका गीतमा रञ्जित गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीको संगीत तथा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको स्वर सुन्न सकिन्छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १०, बुधबार १७:४६बाढीमा परी घाइते भएकाको काठमाडौँस्थित विभिन्न अस्पतालमा उपचार जारी
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १६:०९‘टक्सिक’को सुरुवात आक्रामक, व्यापार बलियो तर दर्शक प्रतिक्रिया मिश्रित
समाचार२०८३ भाद्र १०, बुधबार ११:४४बाढीले धादिङको गल्छीमा झोलुङ्गे पुल बगायो, खोला किनारका क्षेत्र उच्च जोखिममा
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १०, बुधबार १०:०४प्रदर्शनको संघारमा ‘पार्वती’ : प्रिमियरमा भावुक बने दर्शक









