घरघरमा लक्ष्मीपूजा, बत्तीको झिलिमिलीले शहर झकिझकाउ

काठमाडौँ- धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिँदैछ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चक एवं तिहारको तेस्रो दिन लक्ष्मीपूजा गर्ने वैदिक सनातनी परम्परा छ ।
सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यतासहित आज सरसफाइ गरी लक्ष्मीको पूजा गरिने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो ।
यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।
वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
खासगरी शहरमा बत्तीको झिलिमिलीले रौनक बढाएको छ। जतासुकै विभिन्न प्रकारका बत्तीहरु जडान गरिएको र यसले शहरलाई भिन्न र रमाइलो बनाएको देखिन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
आज साँझ घरघरमा भैलो समेत खेल्ने प्रचलन रहेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ कार्तिक २३, आईतवार २०:५१दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा बन्द प्रशिक्षण सुरु
समाचार२०८३ कार्तिक २३, आईतवार १८:२१घरघरमा लक्ष्मीपूजा, बत्तीको झिलिमिलीले शहर झकिझकाउ
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक २३, आईतवार १८:०१ऋषि धमला « रिपोर्टर्स नेपाल
समाचार२०८३ कार्तिक २३, आईतवार १३:०५तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै









