¥यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा

¥यान्डम रिडर्समा ‘यलोफेस’ माथि परिचर्चा

पोखरा ।
पोखराको हिमालयन रिडर्स कर्नरमा शनिबार आयोजित साहित्यिक कार्यक्रममा चर्चित उपन्यास ‘यलोफेस’ माथि बहस गरिएको छ । र्यान्डम रिडर्स सोसाइटी अफ नेपालको नियमित शृंखलाअन्तर्गत भएको कार्यक्रममा उपन्यासमा उठाइएका साहित्यिक चोरी, सांस्कृतिक स्वामित्व र पहिचानको राजनीतिका विषयमा विस्तृत छलफल भएको हो ।

कार्यक्रममा लेखक तीर्थ गुरुङले तयार पारेको अवधारणापत्र प्रस्तुत गरेका थिए । पुस्तकका विभिन्न पक्षलाई विश्लेषण गर्दै उनले उपन्यासले समकालीन साहित्यिक प्रवृत्तिको जटिलता उजागर गरेको बताए । उनका अनुसार कार्यक्रममा ६० भन्दा बढी पाठक सहभागी थिए ।

रेबिका कुआङद्वारा लिखित उक्त उपन्यास साहित्यिक मित्रता र प्रतिस्पर्धाको जटिल सम्बन्धबाट सुरु हुन्छ । कथामा मुख्य पात्र जुन हेवर्डले आफ्नी चिनियाँ–अमेरिकी साथी एथेना लिउको आकस्मिक मृत्यु भएपछि उनले लेखिरहेको अधुरो पाण्डुलिपि चोर्छिन् । त्यसपछि उक्त पाण्डुलिपिलाई परिमार्जन गरेर आफ्नै नाममा प्रकाशित गर्दै जुन एकाएक चर्चित लेखिका बन्छिन् ।

उपन्यासमा जुनले आफ्नो जातीय पहिचान लुकाउन ‘जुनियर सोङ’ नाम प्रयोग गर्ने प्रसंग छ । यो घटनालाई केवल साहित्यिक चोरी मात्र नभई अर्काको संस्कृति र अनुभवमाथिको हस्तक्षेपका रूपमा चित्रण गरिएको छ । कार्यक्रममा प्रस्तुत अवधारणापत्रमा उपन्यासले सांस्कृतिक स्वामित्व र प्रतिनिधित्वका विषयमा उठाएका प्रश्नहरूबारे पनि चर्चा गरिएको थियो ।

तीर्थका अनुसार उपन्यासले प्रकाशन उद्योगको भित्री यथार्थलाई पनि प्रस्ट रूपमा देखाएको छ । बजारमा ‘विविधता’ लाई वस्तुका रूपमा कसरी प्रयोग गरिन्छ र लेखकहरूलाई जातीय पहिचानका आधारमा कसरी ‘टोकनाइज’ गरिन्छ भन्ने पक्षलाई कृतिले उजागर गरेको उनले बताए ।

प्रकाशकहरूले जुनको श्वेत पहिचानलाई चिनियाँ इतिहाससँग जोडेर बजारमा प्रस्तुत गरेको प्रसंगले ‘ह्वाइटवासिङ’ र ‘सांस्कृतिक अपहरण’ को बहसलाई झन् गहिरो बनाएको उनको भनाइ थियो ।

उपन्यासमा देखाइएको ‘एटेन्सन इकोनोमी’ र ‘क्यान्सिल कल्चर’ ले आधुनिक साहित्य सामाजिक सञ्जालका ‘अल्गोरिदम’ भित्र कसरी प्रभावमा पर्छ भन्ने विषय पनि उनले स्पष्ट पारे । सामाजिक सञ्जाल, विशेषगरी ‘ट्विटर’ र ‘बुकटोक’ मा हुने बहस र ट्रोलिङले कुनै लेखकलाई उचाइमा पु¥याउन वा संकटमा पार्न सक्ने अवस्थालाई पनि कृतिले चित्रण गरेको उनले बताए ।

यो पनि पढ्नुहोस् :  एसइई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिल्ड्रेनपार्क आवासीय माविद्वारा सम्मान

अवधारणापत्रमा ‘उपन्यासले को जो कोहीले जोसुकैको संस्कृतिका बारेमा लेख्न सक्छ वा सक्दैन भन्ने मुख्य प्रश्न उठाएको छ’ भन्ने उल्लेख गरिएको थियो । कथामा जुन हेवर्डले आफूले गरेको चोरीलाई ‘क्षतिपूर्ति’ का रूपमा व्याख्या गर्दै आफूलाई निर्दोष देखाउन खोज्ने प्रसंगलाई मानव स्वभावको जटिल र स्वार्थी पक्षसँग जोडेर विश्लेषण गरिएको थियो ।

छलफलमा सरस्वती प्रतीक्षा, गौरी गुरुङ र शिव संकल्पसँग प्रश्नोत्तर गर्दै गुरुङले बहसलाई थप विस्तार दिएका थिए । कार्यक्रममा रमेशबहादुर थापा र कीर्तन गौतमले पनि उपन्यासका विभिन्न आयामबारे धारणा राखेका थिए ।

गुरुङले उपन्यासमा जुन बाहेक अन्य पात्रहरूको निर्माणमा केही कमजोरी देखिएको र कथाको अन्त्य अलि हतारिएको जस्तो लागेको टिप्पणी पनि गरे । ‘यलोफेस’ ले उठाएको ‘आइडेंटिटी पोलिटिक्स’ र ‘प्लेजरिजम’ सम्बन्धी बहसले कार्यक्रममा सहभागी पाठकहरूबीच लामो समयसम्म जिज्ञासा र छलफलको वातावरण सिर्जना गरेको थियो ।

संस्थाका अध्यक्ष दीपक पराजुलीले विश्व साहित्यमा चर्चित कृतिमाथि बहस गर्ने योजना यसपटक सफल भएको बताए । संस्थाका सचिव धु्रव केसीले आगामी महिनाको छलफलका लागि चयन गरिने पुस्तकबारे छिट्टै जानकारी गराइने जानकारी दिए ।

 

 

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21048, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   5   =