‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) को पाँचौँ संस्करण सर्लाहीमा हुने

काठमाडौं। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’(NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो महोत्सव यसपटक मधेश प्रदेशको सर्लाही जिल्ला, चन्द्रनगर गाउँपालिकामा आयोजना गरिने भएको छ ।
महोत्सव आयोजनाबारे चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र आयोजक संस्था सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाबीच विस्तृत छलफल भई तयारी कार्य अघि बढिसकेको छ।
“हिमाल, पहाड, तराई कोही छैन पराइ” भन्ने मूल नारालाई आत्मसात गर्दै विगतका संस्करणहरू पहाडी क्षेत्रमा सफलतापूर्वक सम्पन्न गरिएको महोत्सव यसपटक तराईमा विस्तार गर्न लागिएको आयोजकले जनाएको छ। ग्रामीण कथा, स्थानीय संस्कृति र समुदाय–केन्द्रित सिनेमालाई प्रवर्द्धन गर्ने उद्देश्य बोकेको महोत्सवले अब तराई क्षेत्रका दर्शक, सर्जक र समुदायलाई समेट्दै “सबैको सिनेमा, सबैका लागि” भन्ने अवधारणालाई अझ सशक्त बनाउने लक्ष्य लिएको छ।
गाउँ–गाउँमा सिनेमा पुर्याउने अभियानस्वरूप सुरु गरिएको यस महोत्सवले ग्रामीण परिवेशका कथा, परम्परा, भेषभूषा, भाषा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै आएको छ। “हाम्रो गाउँ, हाम्रो कथा, हाम्रो सिनेमा” भन्ने नारालाई सार्थक बनाउँदै यसले देशका तीनै भौगोलिक क्षेत्रलाई एक सूत्रमा बाँध्ने प्रयासलाई निरन्तरता दिनेछ।
महोत्सवका लागि आह्वान गरिएका नेपाली मौलिक ग्रामीण कथावस्तुमा आधारित चलचित्रहरूतर्फ फिचर, सर्ट तथा विभिन्न भाषाभाषी फिल्म गरी ५० भन्दा बढी आवेदन प्राप्त भएका छन्। तीमध्ये निर्णायक मण्डलबाट छनोट गरिएका चलचित्रहरू महोत्सवमा प्रदर्शन गरिनेछन् भने उत्कृष्टलाई विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ।
महोत्सवमा ग्रामीण परिवेश झल्किने छोटा चलचित्र, डकुमेन्ट्री, फिचर फिल्म तथा विविध भाषाभाषीका फिल्महरू गाउँकै दर्शकमाझ निशुल्क प्रदर्शन गरिनेछ। अफिसियल सेलेक्सन सूची आगामी हप्ताभित्र सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ।
नेपाली मौलिक चलचित्रप्रति दर्शकको आकर्षण बढाउनु, नियमित रूपमा चलचित्र हेर्ने संस्कार विकास गर्नु, ग्रामीण कथामा आधारित सिनेमालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउनु तथा स्थानीय भाषा, कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताए।
“आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने मूल नाराका साथ आयोजना हुने यस महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया तथा विभिन्न संवाद कार्यक्रमहरू पनि समावेश गरिनेछन्। अध्यक्ष सापकोटाले भने, “ग्रामीण कथावस्तुमा आधारित चलचित्रलाई प्राथमिकता दिँदै आएका छौँ। यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि सिनेमा संस्कृतिसँग जोड्ने विश्वास लिएका छौँ।”
यसअघि महोत्सव गोरखाको लाप्राक, काभ्रेपलाञ्चोकको भकुण्डेबेसी, रामेछाप र रसुवामा सफलतापूर्वक सम्पन्न भइसकेको छ। मधेश प्रदेशमा अपेक्षाकृत कम चलचित्र गतिविधि हुने भएकाले यसपटकको संस्करण अझ विशेष रहने महोत्सव संयोजक कमल एक्चै मगरले बताए। महोत्सव चलचित्र विकास बोर्ड र चन्द्रनगर गाउँपालिकाको सहकार्यमा आयोजना हुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १९:०६‘बेहुली’को पहिलो गीत ‘दिलमा ठाउँ छ’को धमाकेदार सुरुवात, ४८ घण्टामै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
कला, विचार/मनोरञ्जन२०८३ श्रावण १०, आईतवार १६:०६आमा छोरीको सम्बन्ध र रहस्यको कथा बोकेको ‘मास्टर्नी’को टिजर सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ श्रावण १०, आईतवार १०:४०राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा
समाचार२०८३ श्रावण ९, शनिबार १९:०४प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति









