Breaking News
पोखरामा युवती हत्या प्रकरण: दोषीलाई कडा सजायको माग, प्रशासन भन्छ-‘कानुनी कारबाहीमा कुनै कसर बाँकी रहँदैन’

पोखरा ।
कास्कीको पोखरामा एक युवतीको हत्या भएपछि मानवअधिकार तथा महिला अधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यससम्बन्धी ध्यानाकर्षण पत्र शुक्रबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई बुझाइएको हो।

चैत २५ गते साँझ करिब ७ बजे पोखराको समाहारचोक नजिक सुजना पौडेल के.सी.को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाले सिंगो समाजलाई स्तब्ध बनाएको छ। शान्त तथा पर्यटकीय सहरका रूपमा परिचित पोखरामा यस्ता जघन्य घटना हुनु नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठाउने विषय भएको सरोकारवालाहरूको भनाइ छ।

ध्यानाकर्षण पत्रमार्फत संघसंस्थाहरूले मृतकलाई न्याय दिलाउन, घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा सजाय दिन तथा मृतककी नाबालिका छोरीको पालनपोषण, शिक्षा र सुरक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेका छन्।

यसैबीच, प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले घटनाप्रति प्रशासन पूर्ण रूपमा संवेदनशील रहेको बताएकी छन्। उनले पछिल्लो समय यस्ता जघन्य अपराधका घटना बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको जड प्रायः परिवारभित्रकै समस्याबाट सुरु हुने गरेको धारणा व्यक्त गरिन्। उनका अनुसार, परिवारभित्रका विवाद समयमै समाधान नभए त्यसले गम्भीर अपराधको रूप लिन सक्छ।

प्रमुख जिल्ला अधिकारी शर्माले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।

मानवअधिकारकर्मीहरूले महिलामाथि हुने हिंसा, बलात्कार र हत्या जस्ता घटनाको न्यूनीकरणका लागि प्रभावकारी कानुन कार्यान्वयन र सुरक्षित सामाजिक वातावरण निर्माणमा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

उक्त ध्यानाकर्षण पत्रमा कास्कीका विभिन्न मानवअधिकार तथा महिला अधिकारसम्बन्धी संघसंस्थाहरूको समर्थन रहेको छ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21295, citypokhara.com

विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य

विराटनगर ।
नेपालमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सलाइन उत्पादन गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा गाउँपालिका–२ मा स्थापना गरिएको ‘एलेक्सा लाइफ साइन्सेज’ उद्योगको औपचारिक उद्घाटन गरिएको छ।

एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापना भएको यस उद्योगले स्वदेशमै उत्पादनमार्फत सेलाइनको आयात प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ ।

उद्योगले यसअघि नै उत्पादन सुरु गरिसकेको भए पनि औपचारिक उद्घाटन भने शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै डा. कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रिय रूपमा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने- ‘नेपालजस्तो विकासोन्मुख देशमा औषधि उत्पादनमा आत्मनिर्भर बन्ने प्रयास निकै सकारात्मक हाे । गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तरता दिन सकियो भने यसले स्वास्थ्य क्षेत्रलाई ठूलो टेवा पुर्‍याउँछ ।’

विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य

उद्योगका निर्देशक दिनेश ठाकुर र रञ्जित भगतका अनुसार करिब पाँच वर्षको अध्ययन, अनुसन्धान र योजनापछि उद्योग सञ्चालनमा ल्याइएको हो । जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिनरी प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरअनुसार सलाइन उत्पादन सुरु गरिएको उनीहरूको दाबी छ । उद्योगले केही समयअघि सीमित मात्रामा उत्पादन बजारमा पठाउन थालेको थियो भने अब औपचारिक उद्घाटनपछि उत्पादन विस्तार गर्ने योजना बनाइएको छ।

हाल उद्योगले पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मका सलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मका ‘स्मल भोल्युम प्यारेन्टरल्स’ उत्पादन गर्ने र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधि उत्पादन गर्ने लक्ष्य राखिएको निर्देशक ठाकुरले जानकारी दिए ।

उद्योगको प्रमुख उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिमा विदेशी निर्भरता घटाउनु रहेकाे बताए । उनले भने, ‘हामीले उत्पादन सुरु गरिसकेका छौं, तर सलाइन उत्पादनको लागत उच्च छ। बजार मूल्य समायोजन हुन सकेको छैन । हाल घाटा सहेरै उत्पादन गरिरहेका छौं । यदि सरकारले नीतिगत सहुलियत र सुधार नगर्ने हो भने स्वदेशी उद्योग टिक्न गाह्रो हुन सक्छ ।’

उद्योग सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारीका अवसर पनि विस्तार भएका छन् । हाल यस उद्योगले १५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । दक्ष जनशक्ति, आधुनिक प्रविधि र गुणस्तर नियन्त्रण प्रणालीमार्फत उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको सञ्चालक ठाकुरले बताए ।

उद्योगले भविष्यमा अन्तर्राष्ट्रिय बजारमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ । पूर्ण रूपमा स्वदेशी लगानीमा सञ्चालनमा आएको यस उद्योगले नेपाललाई सेलाइन उत्पादनमा आत्मनिर्भर बनाउने दाबी गरेको छ।

हाल नेपालको औषधि बजारमा विदेशी कम्पनीहरूको वर्चस्व रहेको अवस्थामा एलेक्सा लाइफ साइन्सेजको सञ्चालनले औद्योगिक तथा स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावना देखाएको सरोकारवालाहरूको भनाइ छ।

स्वदेशमै उत्पादन हुने औषधिले आयात निर्भरता घटाउनुका साथै विदेशी मुद्रा बाहिरिने दर कम गरी अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उद्घाटन समारोहमा उद्योगका सञ्चालक, स्वास्थ्य क्षेत्रका विज्ञ, स्थानीय जनप्रतिनिधि तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा उद्योगका उत्पादन तथा आगामी योजनाबारे विस्तृत जानकारी दिइएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21288, citypokhara.com