आदिवासी जनजाति चलचित्र महोत्सव सुरु, १९ गतेसम्म विविध कार्यक्रम

काठमाडौं । ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा र संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि काठमाडौंमा सुरु भएको छ। चलचित्र विकास बोर्डको सहकार्य तथा आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा बोर्डको सभाहलमा सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले मैनबत्ती प्रज्वलन गर्दै गरेका थिए। उद्घाटन समारोहमा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी, लोक प्रस्तुति र परम्परागत कलाको आकर्षक प्रदर्शन गरिएको थियो।
आयोजकका अनुसार महोत्सव केवल चलचित्र प्रदर्शनको कार्यक्रम मात्र नभई आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास, मिथक, लिपि, लोकज्ञान, सामुदायिक स्मृति र सांस्कृतिक पहिचानलाई दृश्य–श्रव्य माध्यममार्फत संरक्षण र प्रवर्द्धन गर्ने साझा अभियान हो।
महोत्सवको पहिलो दिन लघु चलचित्रतर्फ सागर केरुङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ तथा बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ।
यस वर्षको महोत्सवमा नेवारी, गुरुङ, मगर, माझी र राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई प्रविधिबाट निर्मित वृत्तचित्रहरू समेत प्रदर्शन गरिनेछन्।
कथानक चलचित्रतर्फ दिनेश लिङ्देनको ‘रीत’, अमृतमान महर्जनको ‘स्वयनगु’, जनक गुरुङको ‘ङोल्स्यो रामरानी’ र अशोक आले मगरको ‘दिलसरा’ समावेश छन्।
त्यसैगरी लघु चलचित्रतर्फ हुतबहादुर तामाङको ‘दुखला ग्यम’, परशुराम चौधरीको ‘जाइछै सौसरा’ र विशाल रोक्का मगरको ‘लाहुरेनी’ प्रदर्शन गरिनेछ।
वृत्तचित्र विधामा अनिल मगर निर्देशित ‘आग्रे’, होमकुमारी माझी निर्देशित ‘लदि पूजा’ तथा अरविन्द विश्वासद्वारा एआई प्रविधिमा निर्माण गरिएको ‘बिराटनगरके प्राचीन राजवंशी’ दर्शकमाझ प्रस्तुत गरिनेछ।
महोत्सवको समापन अवसरमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रतर्फ उत्कृष्ट चलचित्र, निर्देशक, स्क्रिप्ट, अभिनेता, अभिनेत्री, छायांकन, प्रोत्साहन पुरस्कार र जुरी अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
आदिवासी जनजाति समुदायका कथा, संस्कृति र जीवनशैलीलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित आयोजना गरिएको महोत्सवले मौलिक भाषा र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ११, आईतवार १६:२८चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह









