सामाजिक कथामा बनेको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक

सामाजिक कथामा बनेको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक

काठमाडौँ। सामाजिक कथामा बनेको चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने जनाएको छ ।

राजु शाहको निर्देशनमा निर्माण भएको चलचित्र ‘जाँड’को ट्रेलरमा मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ ।

चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरार मात्र होइन, नेपाली समाजमा अझै पनि विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ । छोराप्रतिको मोह र छोरीलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणका कारण परिवार र समाजमा देखिने समस्या तथा त्यसविरुद्धको आवाजलाई चलचित्रले कथावस्तुको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ ।

राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसी लगायतका कलाकारको अभिनय छ । ट्रेलरमा कलाकारहरूले जीवन्त अभिनयमार्फत भावनात्मक र सामाजिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् ।

सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार परेका हुन् । चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह हुन् ।

दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ। सामाजिक यथार्थ, पारिवारिक संवेदना र चेतनामूलक सन्देशलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जाँड’ले मद्यपानको दुष्प्रभाव र लैंगिक विभेदजस्ता विषयलाई उठान गर्दै दर्शकमाझ फरक स्वादको कथा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । चलचित्रको बितरकमा दिपक दंगाल, नेशनल सिने ग्रुप नेपाल रहेको छ । चलचित्रको ट्रेलर ओभिएज डिजिटलटेनमेन्ट युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो पनि पढ्नुहोस् :  चलचित्र समीक्षा तथा पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   3   =