महिला पत्रकारका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सुरु

महिला पत्रकारका लागि आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण सुरु

पोखरा । सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा महिला पत्रकारहरूका लागि दुई दिने ’आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण’ कार्यक्रम शनिबारदेखि पोखरामा सुरु भएको छ ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले परिस्थिति अनुसारको मनस्थिति बनाउन आध्यात्मिक ज्ञानको ठुलो आवश्यकता रहेको औँल्याइन् । अब सरकारले समेत स्वास्थ्य क्षेत्रमा काउन्सिलरहरू राखेर काम गर्नुपर्ने समय आइसकेको उल्लेख गर्दै उनले पत्रकारिताको बद्लिँदो स्वरूप र चुनौतीपूर्ण समाजमा सूचनाको होडबाजीमा लाग्दा पत्रकारले आफ्नो लागि समय छुट्याउनु एकदमै जरुरी रहेको बताईन् ।

प्रतिस्पर्धी समाजमा नकारात्मक सञ्जालमा नलागी आत्म–करुणाका साथ एकआपसमा एकता कायम गरी मानसिक र व्यावहारिक कार्यक्षमतालाई निखार्नुपर्ने उनको भनाइ थियो । उनले भनिन्, ’जबसम्म पत्रकारको मस्तिष्क शान्त, सन्तुलित र केन्द्रित हुँदैन, तबसम्म उसले समाजलाई दिने सूचना पनि पूर्ण रूपमा सन्तुलित हुन सक्दैन।’ यससँगै हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्यका बारेमा खुलेर कुरा गर्ने वातावरण पूर्ण रूपमा बनिनसकेको तर बिस्तारै यसबारे चेतना जाग्दै गएको उनले बताइन् ।

कार्यक्रममा प्रशिक्षक ब्रह्माकुमारी मञ्जु राउत (मञ्जु दिदी) ले आध्यात्मिकता भनेको के हो ? र यसलाई जीवन जिउने कलाका रूपमा कसरी अपनाउने ? भन्ने विषयमा गहन प्रशिक्षण दिइन् । ’महिला पत्रकार र आध्यात्मिक सशक्तीकरण’ विषयमा केन्द्रित रहँदै उनले महिलाहरूलाई आत्मविश्वासी, सक्षम र आत्मनिर्भर बनाउन आन्तरिक आत्मिक शक्ति (सोल पावर) जागृत गराएर समाजमा बलियो व्यक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिइन् ।

उनले पत्रकारहरू केवल समाचार लेखक वा वाचक मात्र नभएर समाज परिवर्तनका संवाहक समेत भएकाले अब आध्यात्मिक र मानसिक स्वास्थ्यका विषयमा खुलेर लेख्न र आवाज उठाउन आवश्यक रहेको बताइन् ।

त्यसैगरी, कार्यक्रममा तनाव व्यवस्थापन तथा स्व–हेरचाह (सेल्फ केयर) का बारेमा विशेष प्रशिक्षण दिँदै वरिष्ठ पत्रकार बबिता बस्नेतले व्यस्त र तनावपूर्ण पत्रकारिता जीवनमा ’आफूले आफूलाई सम्हाल्न सक्नु’ नै सबैभन्दा उत्तम उपाय भएको बताइन् । उनले थपिन्, ’हामीले पहिले आफ्नो मानसिक स्वास्थ्यको ख्याल राख्नुपर्छ, अनि मात्र हामीले समाजलाई सही दिशा दिन सक्छौ ।’

यो पनि पढ्नुहोस् :  गणित शिक्षा परिषद् धादिङको अध्यक्षमा उत्तम भट्ट चयन

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष राधिका कँडेलले यस कार्यक्रमले महिला पत्रकारहरूको कार्यक्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूको मानसिक स्वास्थ्यलाई सबल बनाउन ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

‎प्रशिक्षणमा गरिएका विभिन्न अभ्यास तथा आध्यात्मिक खेलहरूमा सहभागीहरूको सक्रिय सहभागिता रहेको थियो, जसले उनीहरूमा नयाँ ऊर्जा र सकारात्मक सोचको सञ्चार गराएको छ । आइतबारसम्म चल्ने उक्त प्रशिक्षणमा विभिन्न जिल्लाका ३७ जना महिला पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको छ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21837, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   3   =