आत्महत्याका समाचार तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत गर्न आग्रह

पोखरा । मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथामका लागि सञ्चारकर्मीलाई संवेदनशील रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा आत्महत्यासम्बन्धी समाचारलाई सनसनीपूर्ण नभई जनस्वास्थ्यको मुद्दाका रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको थियो ।
स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेश कुमार केसीले गण्डकी प्रदेशमा औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने र करिब २० जनाले आत्महत्याको प्रयास गर्ने अवस्था रहेको उल्लेख गर्दै यसलाई गम्भीर जनस्वास्थ्य समस्याका रूपमा लिनुपर्ने बताए। उनका अनुसार सञ्चारमाध्यमले जिम्मेवार र संवेदनशील रिपोर्टिङ गरे आत्महत्या रोकथाममा महत्वपूर्ण योगदान पुग्न सक्छ।

कार्यक्रममा आत्महत्यासम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा अपनाउनुपर्ने मापदण्डबारे पनि जानकारी दिइयो। समाचारलाई सनसनीपूर्ण नबनाउने, मृतक वा प्रयास गर्ने व्यक्तिको नाम–ठेगाना जस्ता पहिचान खुल्ने विवरण नदिनुपर्ने, चित्र वा भिडियो प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउनुपर्ने, शोकसन्तप्त परिवारको गोपनीयता र सम्मान कायम राख्नुपर्ने तथा आत्महत्याको कारणभन्दा रोकथाम र समाधानका उपायमा बढी केन्द्रित हुनुपर्ने सुझाव दिइयो। साथै, मानसिक स्वास्थ्य सेवा र सहयोग प्राप्त गर्न सकिने स्थानबारे पनि जानकारी समावेश गर्न आग्रह गरिएको थियो।
स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव खिमबहादुर खड्काले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने र आत्महत्या रोकथामका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
प्रादेशिक जनस्वास्थ्य सेवा केन्द्र गण्डकीका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले मानसिक स्वास्थ्य भन्नाले व्यक्तिको सोच, भावना र व्यवहार स्वस्थ अवस्थामा रहनुलाई जनाउने बताए। उनले विश्व स्वास्थ्य संगठनको परिभाषा उद्धृत गर्दै मानसिक रूपमा स्वस्थ व्यक्तिले आफ्ना क्षमता पहिचान गर्न, जीवनका सामान्य तनावसँग जुध्न र उत्पादनशील रूपमा काम गर्न सक्ने बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुरेन्द्र रानाभाटले कास्की जिल्लाको पछिल्लो तीन आर्थिक वर्षको आत्महत्यासम्बन्धी तथ्यांक प्रस्तुत गरेका थिए। प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा कास्कीमा १२६ जनाले आत्महत्या गरेका छन्, भने चालु आर्थिक वर्ष २०८२/८३ को असार १६ गतेसम्म १३४ जनाले आत्महत्या गरेको जानकारी दिइयो। नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा देशभर ६ हजार ८४३ जनाले आत्महत्या गरेको समेत कार्यक्रममा उल्लेख गरिएको थियो।
कार्यक्रममा सञ्चारकर्मीहरूले आत्महत्यासम्बन्धी समाचारले जोखिममा रहेका व्यक्तिलाई थप नकारात्मक प्रभाव नपार्ने गरी तथ्यपरक, सन्तुलित र संवेदनशील रूपमा रिपोर्टिङ गर्नुपर्नेमा जोड दिइएको थियो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22021, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २९, शुक्रबार १७:२८‘पोखरा घर’बाट पाँच सेवा, स्थानीय उत्पादनदेखि पर्यटन प्रवर्धनसम्म जोड
समाचार२०८३ श्रावण २९, शुक्रबार १०:३९मोदी खोला बाढी: मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
समाचार२०८३ श्रावण २६, मंगलवार २१:२४अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरा जेसीजले थिम सेमिनार सगैँ साहित्यिक साझ कार्यक्रम गर्ने
समाचार२०८३ श्रावण २५, सोमबार ११:३६सुनको मूल्य २ सय रुपैयाँ घट्यो, चाँदी बढ्यो







