पोखरामा शनिबार नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिप

पोखरा । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराले शनिबार पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप–२०८३ आयोजना गर्ने भएको छ।
बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरी ले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कफीको उत्पादन, गुणस्तर र बजार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रम राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना, नेपाल कफी व्यवसायी महासंघ तथा केन्द्रीय कफी सहकारी संघको सहकार्य तथा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्रवर्द्धनमा सञ्चालन हुनेछ। कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा असार २० गते बिहान १० बजेदेखि बोर्डको क्षेत्रीय कार्यालय, डुम्रिबोट, पोखरामा हुने जनाइएको छ।
पुरीका अनुसार नेपालका ४३ जिल्लामा कफी खेती विस्तार भइसकेको छ भने ३० हजारभन्दा बढी कृषक यस व्यवसायमा आबद्ध छन्। आर्थिक वर्ष २०८१/८२ मा ५ हजार ५०१ हेक्टर क्षेत्रफलबाट ६४२ मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ। सोही अवधिमा २३० मेट्रिक टन कफी आयात हुँदा ६४ मेट्रिक टन कफी निर्यात भएको तथ्यांक रहेको उनले बताए। नेपाली कफी जर्मनी, जापान, स्विजरल्यान्ड, दक्षिण कोरिया, बेलायत र अष्ट्रेलियालगायत मुलुकमा निर्यात हुँदै आएको तथा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य प्राप्त गरिरहेको उनको भनाइ छ।
गण्डकी प्रदेश कफी उत्पादन र खपतका हिसाबले अग्रणी प्रदेशमध्ये एक रहेको उल्लेख गर्दै उनले गत आर्थिक वर्षमा प्रदेशमा १ हजार ४५१ हेक्टर क्षेत्रफलमा कफी खेती भई १५६ मेट्रिक टन ग्रीन बिन उत्पादन भएको जानकारी दिए। पोखरामा मात्रै १ हजार ५०० भन्दा बढी कफी क्याफेमार्फत नेपाली कफी खपत भइरहेको उनले बताए।
कार्यक्रममा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपका विजेतालाई सम्मान, नेपालका उत्कृष्ट कफीहरूको निःशुल्क कपिङ, कफी नर्सरी तथा बगैंचा अवलोकन, स्पेसियालिटी कफी ब्रुइङ, कफी बार उपकरण प्रदर्शनी, बीउदेखि कपसम्मको कफी मूल्य शृंखलाको प्रदर्शनी, कफीसम्बन्धी मनोरञ्जनात्मक खेल, गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया तथा विज्ञबाट प्राविधिक परामर्शलगायतका गतिविधि सञ्चालन गरिनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहने बोर्डले जनाएको छ।
पत्रकार सम्मेलनमै राष्ट्रिय कफी कपिङ च्याम्पियनसिपको अन्तिम नतिजासमेत सार्वजनिक गरिएको छ। जसअनुसार कफी सहकारी संघ लिमिटेड, ललितपुर ८६.२५ अंकसहित प्रथम, महाभारत साना किसान कृषि सहकारी संस्था, काभ्रे ८६.०० अंकसहित द्वितीय भएको छ। महादेवटार धोग कृषि फर्म, काभ्रे र गुल्मी कफी स्टेट प्रालि समान ८४.७५ अंकसहित तथा कोट थोक कफी उत्पादक कृषक समूह, गोरखालाई साेहि दिन नगद पुरस्कारसहित अर्वाड प्रदान गरिनेछ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22032, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण ८, शुक्रबार २२:३२समाचार लेखेकै भरमा पत्रकार सुमन ढुंगानालाई धम्की, प्रेस चौतारी कास्कीको कडा आपत्ति
समाचार२०८३ श्रावण ८, शुक्रबार ०६:२७गण्डकीका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री काकीको १०० दिने उपलब्धि सार्वजनिक
समाचार२०८३ श्रावण ६, बुधबार २१:२१पोखरा–१४ मा वडाध्यक्ष कार्कीको संयोजकत्वमा मानव बेचबिखन विरुद्ध स्थानीय समिति गठन
समाचार२०८३ श्रावण ६, बुधबार १३:४५विवाह उमेर हद बाल हितविपरीत: अन्तर्राष्ट्रिय कानुनअनुकूल संशोधन गर्न जोड







