गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, मदरल्याण्ड मावि प्रथम

पोखरा । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनामा गण्डकी प्रदेश स्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता उत्साहपूर्ण वातावरणमा शुक्रबार सम्पन्न भएको छ। नेपालको बीमा बजारलाई व्यवस्थित, सुरक्षित तथा प्रभावकारी बनाउन स्थापित नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरेको हो। ५ वटा कलेज तथा विद्यालयका विद्यार्थीहरूबीच भएको कडा र रोचक प्रतिस्पर्धामा मदरल्याण्ड मावि, मासबार पोखरा प्रथम हुन सफल भएको छ।
विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धासहित सम्पन्न प्रतियोगितामा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो। कार्यक्रममा बीमा विज्ञ तथा पाठ्यक्रम विकास केन्द्र पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक रवीन्द्र घिमिरे विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
त्यसैगरी, नेपाल सर्भेयर एसोसिएसन कास्कीका संयोजक बुद्धिराज अधिकारी, निप्स पोखरा च्याप्टरका अध्यक्ष छविलाल पौडेल, नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका सहायक कबिता पाण्डे लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताको सञ्चालन कोमल लामिछानेले गर्नुभएको थियो भने प्राविधिक सहयोग सन्तोष गुरुङले प्रदान गर्नुभएको थियो।
प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय, मासबार–कास्की, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज, पोखरा, पूर्णामृत भवानी माध्यमिक विद्यालय, स्याङ्जा, वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमी, पोखरा तथा पोखरा युनाइटेड एकेडेमी, भद्रकाली–पोखराका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीहरू माझ वित्तीय र बीमा साक्षरता बढाउन शैक्षिक क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। “विद्यार्थीहरू भोलिको समाज परिवर्तन र जनचेतनाका संवाहक हुन्,” प्रमुख अतिथि आचार्यले भन्नुभयो, “त्यसैले उनीहरूले यहाँ सिकेका बीमा सम्बन्धी ज्ञानलाई आफ्ना परिवार, घर, छिमेक र समुदायसम्म पुर्याउनु आवश्यक छ।” उहाँले आर्थिक जोखिम न्यूनीकरणका लागि बीमाको महत्व बुझ्न र बुझाउन शैक्षिक संस्थाहरूले प्राधिकरणसँग सहकार्य गर्नुपर्नेमा समेत जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष एवं नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले प्राधिकरणको उद्देश्य र नियमनकारी निकायको तर्फबाट आफ्नो धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “नेपाल बीमा प्राधिकरणले केवल नियमन मात्र गर्ने नभई तल्लो तहसम्म बीमाको पहुँच र सचेतना बढाउन स्थानीय तथा प्रदेश स्तरमा हाजिरीजवाफ, निबन्ध जस्ता चेतनामुलक कार्यक्रमहरू निरन्तर गरिरहेको छ।” मिश्रले अगाडि थप्दै हाजिरीजवाफमा सोधिएका प्रश्नहरू केवल जित्नका लागि मात्र नभई जीवन उपयोगी सीप र वित्तीय चेतनाको जग बसाल्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
विशेष अतिथि तथा पोखरा विश्वविद्यालयका कार्यकारी निर्देशक रवीन्द्र घिमिरेले बीमा क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक पाठ्यक्रमहरूलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भविष्यमा बीमा क्षेत्रमा रोजगारी तथा स्वरोजगारीका प्रशस्त अवसरहरू रहेको उल्लेख गर्दै सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
प्रतियोगितामा पाँच वटा शैक्षिक संस्थाका विद्यार्थीहरूबीच रोचक र प्रतिस्पर्धात्मक प्रस्तुति भएको प्रतियोगिताका प्रस्तोता कोमल लामिछानेले जानकारी दिनुभयो। प्रतियोगितामा मदरल्यान्ड माध्यमिक विद्यालय, मासबार–पोखरा प्रथम, पोखरा युनाइटेड एकेडेमी, भद्रकाली–पोखरा द्वितीय तथा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज, पोखरा तृतीय भएका थिए।
प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः करसहित रु. २० हजार, रु. १५ हजार र रु. १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका थिए। प्रतियोगितामा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयका प्रमुख शम्भु प्रसाद मिश्रले गर्नुभएको थियो।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन ११, आईतवार १६:२८चार भाषामा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’
समाचार२०८३ आश्विन ११, आईतवार १५:२५लालबकैया नदीको कटान तीव्र,जोखिमयुक्त क्षेत्रको निरन्तर निगरानी
समाचार२०८३ आश्विन ११, आईतवार १५:१६कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा,धादिङ पनि खोलियो कार्यालय
समाचार२०८३ आश्विन १०, शनिबार २०:४९पश्चिमी क्षेत्रमा भारी वर्षा कायमै, भोलिसम्म सतर्कता अपनाउन आग्रह








