‘गौँथली’लाई दर्शकको साथ, सिनेमाका दृश्य सामाजिक सञ्जालमा सार्वजनिक नगर्न निर्देशक रिजालको आग्रह

काठमाडौं । प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गर्दै सकारात्मक लय समातेको छ। प्रदर्शनको पहिलो दिन (शुक्रबार) औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेखनीय साथ पाएपछि व्यापारमा उल्लेख्य सुधार आएको निर्माण पक्षले जनाएको छ।
विश्वकप फुटबलको माहोल र लगातारको वर्षाका कारण सुरुआती दिनमा दर्शकको उपस्थिति प्रभावित हुने अनुमान गरिए पनि चलचित्रप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। बढ्दो मागसँगै देशभरका अधिकांश सिनेमाघरहरूले ‘गौँथली’का शोहरू थप गरेका छन्।
निर्देशक डा. कपिल रिजाल का अनुसार चलचित्र हेरेर निस्किएका दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले नयाँ दर्शकलाई पनि हलसम्म तानिरहेको छ। “दर्शकको मुखैमुखबाट फैलिएको सकारात्मक प्रतिक्रियाले पछिल्ला शोहरूमा दर्शकको चाप उल्लेखनीय रूपमा बढेको छ। अपराह्न र साँझका अधिकांश शो भरिभराउ हुन थालेका छन्,” निर्देशक रिजालले भने।
यसैबीच, चलचित्रका महत्त्वपूर्ण दृश्यहरू खिचेर फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा सार्वजनिक गर्ने क्रम बढेपछि निर्देशक रिजालले त्यसो नगर्न सबै दर्शकसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत जारी अपिलमा उनले दर्शकले चलचित्रलाई दिएको माया, साथ र हौसलाप्रति आभार व्यक्त गर्दै, प्रदर्शनपछिका दिनमा आफू र चलचित्रको टोली विभिन्न हलमा पुगेर प्रत्यक्ष रूपमा दर्शकसँग भेटघाट तथा प्रतिक्रिया संकलन गरिरहेको उल्लेख गरेका छन्।
उनका अनुसार चलचित्रका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक हुँदा अन्य दर्शकको उत्सुकता घट्नुका साथै चलचित्रको व्यावसायिक, सिर्जनात्मक र कलात्मक पक्षमा समेत नकारात्मक असर पर्छ।
निर्देशक रिजालले लेखेका छन्, “सामाजिक सञ्जालमा चलचित्रका दृश्यहरू सार्वजनिक हुँदा त्यसले व्यावसायिक मात्र होइन, सिर्जनात्मक र कलात्मक रूपमा पनि क्षति पुर्याउँछ। सिनेमा हेर्न आउने दर्शकले पहिल्यै महत्त्वपूर्ण दृश्य देख्दा हेर्ने उत्सुकता कम हुन्छ। त्यसैले हलभित्र भिडियो खिच्ने गतिविधिविरुद्ध हामी कानुनी प्रक्रियामा अघि बढिसकेका छौँ।” उनले सबै दर्शकलाई चलचित्रको सम्मान गर्दै हलभित्र भिडियो वा दृश्य रेकर्ड नगर्न तथा सामाजिक सञ्जालमा पोस्ट नगर्न विनम्र अनुरोध गरेका छन्।
दर्शकहरूले ‘गौँथली’ले श्रीमान्–श्रीमतीबीचको विश्वास, अन्यायविरुद्धको संघर्ष, धैर्य, आत्मविश्वास र सत्यका पक्षमा उभिने साहसलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्। विशेषगरी समाजमा पीडित महिलाको आवाजलाई सशक्त रूपमा उठान गरेको भन्दै महिला दर्शकबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्देशक रिजालको भनाइ छ।
निर्माता सुमन गिरीका अनुसार मंगलबार पनि देशभरका अधिकांश सिनेमाघरमा चलचित्रको अकुपेन्सी उत्साहजनक रहेको छ। उनका अनुसार बिहानका शोमा ७० देखि ८० प्रतिशतसम्म र दिउँसो तथा साँझका अधिकांश शोमा शतप्रतिशत अकुपेन्सी देखिएको छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ।
डा.भोला रिजाल को कथामा आधारित यस चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्। घर, परिवार, सम्बन्ध र आत्मीयताको भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको ‘गौँथली’को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरिरहेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १६, मंगलवार १६:५०निर्मला सुबेदीको रचना र मुख्य स्वरमा ‘सुन्नुहोला घटना भोटेकोशीको’ सार्वजनिक
कला, विचार/मनोरञ्जन२०८३ भाद्र १६, मंगलवार १२:११विजय र पूजाले सुरु गरे ‘रत्यौली’को छायांकन » Celebrity Nepal
समाचार२०८३ भाद्र १६, मंगलवार ०७:०१आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १५, सोमबार २१:४३गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न









