निर्माता सुशील पोखरेल अब निर्देशक, ‘प्रतिज्ञा’मार्फत निर्देशनमा डेब्यु

काठमाडौं। तीन दशकदेखि नेपाली फिल्म निर्माणमा सक्रिय निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘प्रतिज्ञा’ मार्फत उनले निर्देशन यात्रा सुरु गर्न लागेका हुन्।
बिहीबार सामाजिक सञ्जालमार्फत फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको औपचारिक घोषणा गरेको हो।
२०५४ सालदेखि फिल्म निर्माणमा सक्रिय पोखरेलले यसअघि ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडिगार्ड’, ‘लभ सब’, ‘राधे’, ‘यात्रा’ र ‘परालको आगो’ जस्ता फिल्ममा लगानी गरिसकेका छन्। उनका सफल फिल्ममध्ये ‘जय शिव शंकर’, ‘जीवनदाता’ र ‘मैदान’ उल्लेखनीय मानिन्छन्।
सात वर्षको अन्तरालपछि गत वर्ष ‘परालको आगो’ मार्फत निर्माणमा पुनरागमन गरेका पोखरेल यसपटक निर्देशनमा नयाँ यात्रा सुरु गर्न लागेका हुन्।
निर्देशनमा आउनुको कारणबारे उनले भने, “नेपाली फिल्ममा मेरो तीन दशक लामो निर्माण अनुभवलाई ‘प्रतिज्ञा’मार्फत निर्देशनमा प्रस्तुत गर्दैछु। एउटा उत्कृष्ट कथावस्तु पाएकोले निर्देशनमा हात हालेको हुँ। कथावस्तुले नै आकर्षित गरेपछि निर्देशन यात्रामा पाइला चाल्नु उपयुक्त लाग्यो।”
सार्वजनिक गरिएको थिम पोस्टरमा भगवान् शिवको विशाल स्वरूप र त्रिशूललाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरमा ‘जब प्रणाली न्याय दिन असफल हुन्छ, तब एउटा प्रतिज्ञा नै न्याय बन्छ’ भन्ने ट्यागलाइन समावेश गरिएको छ, जसले फिल्म न्याय, संघर्ष र दृढ संकल्पको कथामा आधारित रहेको संकेत गर्छ।
फ्यामिली थ्रिलर जनरामा निर्माण हुने फिल्मको छायांकन आगामी तिहारको छेकोबाट सुरु गर्ने तयारी भइरहेको निर्देशक पोखरेलले जानकारी दिए। उनका अनुसार अहिले फिल्मको प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अघि बढिरहेको छ।
निर्माण टिमले फिल्मलाई नयाँ वर्ष २०८४ मा प्रदर्शन गर्ने लक्ष्य राखेको छ। साथै, कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही दिनमै सार्वजनिक गरिने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:४०नेपालकी प्राची तोमर ‘मिसेस इन्टरनेशनल ग्लोबल २०२६’ मा चौथो रनरअप
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २२, बिहीबार २१:१३पल मलिकासँगै रातो टीका लाउदा क्या दामी देखियो सामूहिक डान्स
समाचार२०८३ आश्विन २२, बिहीबार २१:१०जग्गा हदबन्दीको समस्या समाधानका लागि पहल
समाचार२०८३ आश्विन २२, बिहीबार १८:४८पाँचौँ वार्षिकोत्सवमा लाङ्घाली डेन्टलको उपचार सेवामा ५० प्रतिशत छुट









