भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।

धादिङ, २० साउनः
धादिङबेसीस्थित ऐतिहासिक भैरवी मन्दिर गुठीको करिब १९ रोपनी जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने भएको छ । प्रशासनिक तथा प्राविधिक कारणले केही समयदेखि रोकिएको सीमाङ्कन प्रक्रिया अन्तिम तयारीमा पुगेपछि सम्बन्धित निकायको समन्वयमा काम अघि बढाउन लागिएको हो ।
भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठका अनुसार नापी कार्यालयका प्रमुख बिदामा रहनु तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) हालै धादिङमा सरुवा भएर आएकाले आवश्यक कागजात अध्ययन, समन्वय र प्राविधिक तयारीका लागि केही समय लागेको थियो । अब नापी कार्यालयसहित सम्बन्धित प्राविधिक टोलीको उपस्थितिमा जग्गाको साँध–सिमाना छुट्याउने कार्य सुरु गरिने उहाँले बताउनुभयो ।
सीमाङ्कन सम्पन्न भएपछि गुठीको वास्तविक क्षेत्रफल र स्वामित्वको अवस्था स्पष्ट हुने समितिको विश्वास छ । त्यसपछि सम्भावित अतिक्रमण पहिचान गर्ने, आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तथा गुठीको सम्पत्तिलाई मन्दिरको भोगचलन र संरक्षणका लागि व्यवस्थित रूपमा उपयोग गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
समितिका अनुसार धादिङबेसीको सिरान बजार र पुछार बजार क्षेत्रमा पर्ने साविक नीलकण्ठ–५ ‘घ’ अन्तर्गतका कित्ता नम्बर १४६ र १४७ तथा साविक नीलकण्ठ–५ ‘च’ अन्तर्गतका कित्ता नम्बर ३२ र ३३ भैरवी मन्दिर गुठीको स्वामित्वमा रहेका जग्गा हुन् ।
ती जग्गामा विसं २०५३ सालमा मोही कायम गरी विभिन्न व्यक्तिका नाममा दर्ता गरिएको थियो । त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले विसं २०५६ सालमा खाँगी जग्गामा मोही कायम हुन नसक्ने फैसला गरेपछि सम्बन्धित दर्ता बदर भएको र जग्गा पुनः भैरवी मन्दिर गुठीको नाममा कायम भएको समितिको भनाइ छ । त्यसपछि गुठीले जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरिसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन सम्पन्न भएपछि यसको संरक्षण, व्यवस्थापन र स्वामित्वको सुरक्षा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ श्रावण २०, बुधबार ०७:४४भैरवी मन्दिर गुठीको जग्गाको सीमाङ्कन अर्को सातादेखि सुरु गरिने ।
समाचार२०८३ श्रावण २०, बुधबार ०६:१४टेकुको ‘वेस्ट टू इनर्जी’ परियोजना पुनः सञ्चालन गरिने
सूचना-प्रविधि२०८३ श्रावण १९, मंगलवार २१:०८सरकारी सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने
समाचार२०८३ श्रावण १९, मंगलवार १९:५१गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच वार्ता








