अध्यारोबाट उज्यालो देखेपछि… « रिपोर्टर्स नेपाल

काठमाडौं, भदौ ९ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीका अर्जुन आचार्य लामो समयदेखि आँखा धमिलो देख्ने समस्याबाट ग्रसित थिए । यसअघि उनले कहिल्यै आफ्नो आँखाको जाँच गराएका थिएनन् ।
तर, तुलसीपुर–१२ को वडा कार्यालयमा सोमबार राखिएको स्वास्थ्य शिविरमा जाँच गराउँदा मोतियाबिन्दु देखियो । ‘पहिल्यै धमिलो देखिन्थ्यो, तर, परीक्षण गराउन पाएको थिएन,’ उनले भने, ‘अहिले परीक्षण गराउँदा मोतियाबिन्दु भएको रहेछ, अब आज शल्यक्रियाका लागि बोलाउनुभएको छ ।’
हरीपौरीकै बट्क्या चौधरीको पनि देब्रे आँखा कम देखिने समस्या थियो । त्यो आँखा पनि शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिए । गाउँघरमै यसरी शिविर सञ्चालन भएपछि आफूले आँखा जाँच गराउन पाएको उनको भनाइ छ । ‘गाउँमै आँखा जाँच गर्ने शिविर आयो,’ उनले भने, ‘आँखा जाँच गराउँदा समस्या पनि पत्ता लाग्यो ।’
उनीहरू मात्रै होइन, सोही वडाका मात्रै तीनसय ८२ जनाको आँखा जाँच गरिएको थियो । त्योमध्ये ६३ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो, भने एकसय ११ जनालाई चस्मा वितरण गरिएको थियो ।
मोतियाबिन्दु बिग्रिएर जलविन्दु भएमा त्यसले आँखालाई निकै समस्या पार्ने भएकाले पनि मोतियाबिन्दुको पहिचान गरी शल्यक्रिया गर्न यो शिविर आयोजना गरिएको अस्पतालका नेत्र सहायक विमल घिमिरेले जानकारी दिए । उनका अनुसार मोतियाबिन्दुको शल्यक्रिया गर्न १२ हजार लाग्ने गरेको भए पनि शिविरबाट गएपछि छ हजार पाँच सयमा शल्यक्रिया गरिदिनेसमेत बताए ।
त्यस्तै चस्मा आवश्यक पर्नेहरूलाई निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालका प्रशासन सहायक पूर्णबहादुर वलीले बताए । नेपालमा दृष्टि गुम्नुको मुख्य कारण नै मोतियाबिन्दु रहेकोसमेत उनले जानकारी दिए ।
उमेर बढ्दै जाँदा मोतियाबिन्दु हुनु स्वभाविक प्रक्रिया रहेको जनाउँदै यसलाई समयमै पहिचान र शल्यक्रिया गर्नुपर्ने उनको भनाइ छ । यदि समयमै शल्यक्रिया नभएमा भने जोखिम बढ्न सक्ने उनको भनाइ छ ।
वडावासीको मागअनुसार यसरी स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिए । आँखाजस्तो संवेदनशील अङ्गलाई जोगाउन पनि यस्ता शिविरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
वडा कार्यालयको आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ (राप्ती आँखा अस्पताल) प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच शिविर भएको हो । शिविरलाई नर्वेको ‘द नर्वेजियन एसोसिएसन अफ द ब्लाइन्ड एन्ड पार्सियली साइटेड’, ‘एट्लास एलायन्स’ तथा नर्वे सरकारको आर्थिक सहयोग रहेको छ ।
यो शिविर तुलसीपुरको १२ र १३ मा सम्पन्न भइसकेको छ, भने केही दिनमा तुलसीपुर–११ मा आयोजना हुनेछ । त्यस्तै घोराही उपमहानगरपालिकासहित बबई, शान्तिनगर, दङ्गीशरणमा पनि शिविर सञ्चालन हुनेछ । यो कार्यक्रमअन्तर्गत डिसेम्बरसम्म १२ सयलाई मोतियाबिन्दुको शल्यक्रिया गर्ने कार्यक्रम रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ९, मंगलवार १०:२३आहा, यस्तो पो झरना !
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ९, मंगलवार १०:१४अध्यारोबाट उज्यालो देखेपछि… « रिपोर्टर्स नेपाल
खेलकुद२०८३ भाद्र ९, मंगलवार ०९:४४मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
समाचार२०८३ भाद्र ८, सोमबार १९:१६लागुपदार्थ दुर्व्यसनी र बालमैत्री स्थानीय शासनबारे मनरुपी माविका विद्यार्थीलाई अभिमुखिकरण









