पेन्सनपट्टामा लुकेको परिवारको रहस्य, दयाहाङको ‘पेन्सन पट्टा’ भदौ २६ मा

बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ
काठमाडौं । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिन्छ । तर यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडा कति गहिरा छन् भन्ने कथा बोकेर आएको छ फिल्म ‘पेन्सन पट्टा’ । माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसले उठाउन खोजेको विषयबारे चासो बढाएको छ ।
सिटी सेन्टरस्थित विग मुभिजमा मंगलवार सार्वजनिक गरिएको ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ । परिवारमा वर्षौंदेखि चर्चा र स्मरणबाटै ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रले केवल एउटा व्यक्तिको खोजी गर्दैन, बरु लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावको तह खोल्दै जान्छ । पेन्सनको अधिकारसँगै जोडिएको यो खोजी फिल्ममा पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानको प्रश्नसँग जोडिएको देखिन्छ ।
ट्रेलरले फिल्मको प्रस्तुति र दृश्यभाषा पनि आकर्षक रहेको संकेत गर्छ । भदौ २६ गतेदेखि दर्शकमाझ आउने ‘पेन्सन पट्टा’ले लाहुरे जीवनको चमकभन्दा पर रहेको भावनात्मक र सामाजिक पाटोलाई पर्दामा ल्याउने अपेक्षा गर्न सकिन्छ । फिल्मको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।
फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय रहेको छ ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् ।
फिल्मको संगीत मनोज थापा मगर, शिव बराइली र सुरज तामुले तयार पारेका छन् । निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले संयुक्त रूपमा सम्पादन गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।
सुरज तमु र केर डी. कोइन्च लिनुच सह–लेखक रहेको फिल्ममा राजेन्द्र मोक्तान कलरिस्ट तथा राजु याकचा कला निर्देशकका रूपमा रहेका छन् । ‘पेन्सन पट्टा’लाई आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार १९:०९दुई सातामै कृष्णभीरमा नयाँ ट्र्याक,पृथ्वी राजमार्ग सञ्चालनमा
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र ३१, बुधबार १४:०७स्तन क्यान्सर सचेतनाका लागि असोज १७ मा ‘पिंकवाक २०२६’ आयोजना हुँदै, वसन्तपुरदेखि पाटनसम्म पदयात्रा
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:४६नेपालले आज जापानसँग भलिबल खेल्दै
खेलकुद२०८३ भाद्र ३१, बुधबार ११:२५अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती









