दयाहाङ राई » Celebrity Nepal

दयाहाङ राई » Celebrity Nepal

सेलिब्रेटी नेपाल । ‘कबड्डी’ शृंखलाका अघिल्ला भागमा काजीको संघर्ष मुख्यतः मैयाँलाई आफ्नो बनाउन केन्द्रित थियो । प्रेम पाउने चाहना, त्यसका लागि गरिने प्रयास र साथीहरूको साथ–उक्साहटले काजीको यात्रा अघि बढ्दै आएको थियो । तर पाँचौँ भागसम्म आइपुग्दा काजीको जीवनको प्रश्न फेरिएको छ प्रेम पाएपछि त्यसलाई कसरी जोगाउने र त्यससँगै जीवन कसरी अघि बढाउने ?

अभिनेता दयाहाङ राईका अनुसार ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यही प्रश्नको वरिपरि घुमेको छ । उनका अनुसार यसपटक काजीले प्रेमसँगै परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीबीच सन्तुलन खोज्दै गरेको देखिनेछ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको चलचित्र आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउँदैछ । पाँचौँ शृंखलामा काजीको प्रेमकथा नयाँ मोडमा प्रवेश गर्ने दयाहाङ बताउँछन् ।

‘प्रेम प्राप्तिको संघर्षबाट काजी अघि बढिसकेको छ । अब उसको जीवनमा परिवार, समाज, साथीभाइ र व्यक्तिगत जिम्मेवारीको प्रभाव देखिन्छ,’ दयाहाङले भने, ‘प्रेम पाएपछि त्यसको व्यावहारिक पाटो पनि हुन्छ । त्यही पाटोलाई ‘कबड्डी ५’ मा हेर्न सकिन्छ ।’

प्रेमपछि काजीले गर्नुपर्ने सम्झौता

पहिलो भागदेखि पाँचौँसम्म आइपुग्दा काजीको चरित्रसँगै उसको जीवन भोगाइ पनि बदलिएको छ । त्यसैले यसपटक दर्शकले विगतका भागभन्दा केही परिपक्व र फरक काजी देख्न पाउने दयाहाङको भनाइ छ ।

मैयाँसँगको सम्बन्ध ‘कबड्डी’ शृंखलाको सुरुदेखिकै महत्वपूर्ण पक्ष हो । पाँचौँ भागमा मैयाँ फेरि काजीको जीवनमा फर्किएपछि पुरानो प्रेमले उसको मनमा ल्याउने हलचल स्वाभाविक भए पनि अहिले उसको प्राथमिकता केवल प्रेम प्राप्त गर्नुमा सीमित छैन ।

‘यसपटक काजीले आफ्नो उमेर, चाहना र आफ्नोपनभन्दा बाहिर गएर परिवार, समाज र साथीभाइसँग पनि सम्झौता गर्नुपर्ने अवस्था आउँछ । किनकि त्यहाँ उसको सपना जोडिएको छ,’ दयाहाङले भने, ‘हिजो प्रेम प्राप्त गर्नु थियो, अब त्यसलाई जीवनसँग जोडेर अगाडि बढाउनु छ ।’

यो पनि पढ्नुहोस् :  ‘दृश्यम ३’ ३ दिनमै २७२ करोड पार » Celebrity Nepal

उनका अनुसार उमेर र समयसँगै मानिसको प्राथमिकता पनि परिवर्तन हुँदै जान्छ ।

‘एउटा उमेरसम्म मलाई आफ्नै निर्णय गर्न देऊ भन्ने हुन्छ । तर एउटा समयपछि परिवार, साथीभाइ र समाज पनि चाहिन्छ,’ उनले भने, ‘काजीले पनि त्यही सम्बन्ध र जिम्मेवारीलाई ट्याकल गर्दै अगाडि बढ्ने क्रममा धेरै सम्झौता गर्छ ।’

काजीको जीवनमा बदलिँदो समय र राजनीतिक प्रभाव

‘कबड्डी ५’ मा काजीको व्यक्तिगत कथासँगै समय र समाजमा आएको परिवर्तनको प्रभाव पनि देख्न सकिने दयाहाङले बताए । यद्यपि यसपटक राजनीतिक विषयलाई कथाको मुख्य विषय भने नबनाइएको उनको भनाइ छ ।

‘पछिल्लो समयको राजनीतिले गर्ने असर, राजनीतिक परिवर्तनसँगै आउने अपेक्षा र परिवर्तनपछि देखिएका सपनाहरूको प्रभाव पात्रको जीवनमा देखिन्छ,’ उनले भने, ‘तर दोस्रो भागमा जसरी राजनीतिक विषयलाई नै केन्द्रमा राखिएको थियो, यसपटक त्यस्तो होइन । समयसँगै आएको परिवर्तनले काजीको मनोदशामा पारेको प्रभावचाहिँ देखिन्छ ।’

काजीको जीवनमा यसपटक पनि साथीहरूको भूमिका कस्तो रहन्छ र उनीहरूको उक्साहटले कहाँसम्म पुर्‍याउँछ भन्ने कुरा भने चलचित्र हेरेपछि मात्रै थाहा हुने दयाहाङ बताउँछन् ।

‘पाँचौँ भागसम्म आइपुग्दा काजी आफ्नै साथी जस्तो लाग्छ’

काजीको चरित्रसँग करिब १५ वर्षदेखि जोडिँदै आएका दयाहाङका लागि यो पात्र अब पर्दाको चरित्र मात्रै रहेन । लामो समय एउटै पात्रसँग यात्रा गर्दा काजी आफ्नै नजिकको साथी जस्तो लाग्न थालेको उनी बताउँछन् ।

‘यतिका वर्ष काम गरिसकेपछि काजीलाई छोड्छु जस्तो लाग्दैन । बरु ऊ नजिकको साथी जस्तो आभास हुन्छ,’ उनले भने ।

‘कबड्डी’को दोस्रो भागमा काजीको चरित्रलाई कसरी अघि बढाउने भन्ने विषय आफूका लागि चुनौतीपूर्ण रहेको दयाहाङले स्मरण गरे । तर त्यसपछि काजीलाई मानिसको जीवनमा आउने स्वाभाविक परिवर्तनसँगै अघि बढाउँदै लगेको उनको भनाइ छ ।

‘दोस्रो भाग गर्दा काजीको क्यारेक्टर कसरी अगाडि बढ्छ भन्ने कुरा निकै कठिन लागेको थियो,’ उनले भने, ‘तर एउटा लामो यात्राका रूपमा हेर्दा हाम्रो जीवनमा जसरी परिवर्तन आउँछ, काजी पनि त्यसरी नै परिवर्तन हुँदै गयो ।’

यो पनि पढ्नुहोस् :  ‘पाँच पाण्डव’को पोस्टरमा इभा गिरीको द्रोपदी लुक्स

पहिलो भागदेखि पाँचौँ भागसम्म आइपुग्दा काजीले भोगेको करिब १५ वर्षको जीवनयात्रासँग जोडिएर काम गर्न पाउनु आफ्ना लागि रमाइलो अनुभव भएको उनले बताए ।

६५ वर्षपछिको काजी पनि हेर्ने इच्छा

काजीसँगको लामो सम्बन्धकै कारण दयाहाङको मनमा यी पात्रहरूको कथा अझ परसम्म लैजाने सोच पनि छ ।

‘यी पात्रहरू ६५ वर्ष पुगेपछि उनीहरूको मनोदशा कस्तो होला ? सबै पात्रहरू कहाँ र के गरिरहेका होलान् ? त्यस्तो कथा बनाउन मन छ,’ उनले भने ।

निर्देशक रामबाबु गुरुङले नगरे पनि आफूले भविष्यमा त्यस्तो कथा निर्माण गर्ने सोच राखेको दयाहाङले बताए ।

‘रामबाबुले नगरे पनि म गर्छु भन्ने सोच छ,’ उनले भने ।

लामो समय एउटै पात्रसँग काम गर्दा त्यसप्रति भावनात्मक सम्बन्ध गहिरिँदै जाने उनको अनुभव छ ।

‘१५ वर्षअघिदेखि काजी पात्रसँगको कनेक्सन र हाम्रो आफ्नै भोगाइले पनि होला, यी पात्रहरूप्रति मोह जाग्ने रहेछ,’ उनले भने, ‘काम गर्दै जाँदा पात्रप्रति माया लाग्दै जाने रहेछ । अहिले त काजी आफ्नै साथी जस्तो फिल हुन्छ ।’

बलियो कलाकार टोलीसँग ‘कबड्डी ५’

रामबाबु गुरुङकै कथा तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् ।

सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंको अभिनय छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा निर्देशक गुरुङसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘काठमाडौं हरर फिल्म फेस्टिभल’ को दोस्रो संस्करणका लागि २६ फिल्म छनोट
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   1   =