बाढीको लेदोले थलिएका अस्पताल र विद्यालय ब्युँताउन धादिङमा बृहत् श्रमदान सुरु

गल्छीको महेशदोभानबाट थालिएको सफाइमा सांसदसहित सयौँ युवा जुटे; आइतबार गजुरी क्षेत्रमा पनि विस्तार गरिने
धादिङ,१३ भदौ । भीषण बाढीले आक्रान्त बनेको धादिङमा हिलो र लेदोले पुरिएका सार्वजनिक संरचना पुनःसञ्चालनका लागि नागरिक स्तरबाट बृहत् श्रमदान अभियान सुरु भएको छ। बाढीका कारण ठप्प बनेका स्वास्थ्य संस्था र विद्यालयहरू तत्काल सुचारु गराउने उद्देश्यका साथ शनिबार गल्छी गाउँपालिकास्थित महेशदोभानबाट संयुक्त सफाइ अभियान थालिएको हो।
बाढीले बस्ती, विद्यालय र अस्पतालहरूका कोठाभित्र दुई तलासम्म लेदो थुपारेको र भित्री भागमा मेसिन प्रयोग गर्न असम्भव भएपछि युवाहरू आफैँ श्रमदानमा होमिएका हुन्। पहिलो दिन गल्छी अस्पताल र बागेश्वरी माध्यमिक विद्यालयभित्र पसेको हिलो पन्छाउन धादिङ, काठमाडौँ, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक तथा स्थानीय क्षेत्रका गरी करिब दुई सय स्वयंसेवकहरू कार्यक्षेत्रमा खटिएका थिए।
गैर-राजनीतिक रूपमा नागरिक सेवा भावले सञ्चालन गरिएको यस अभियानको संयोजन रास्वपा धादिङका सभापति राजन अर्याल र स्थानीय अगुवा कुमार रिमालले गर्नुभएको छ। श्रमदानमा ऐक्यबद्धता जनाउन सांसदहरू प्रभा कार्की, बसुमाया तामाङ र बोधनारायण श्रेष्ठ समेत भौतिक रूपमै उपस्थित हुनुहुन्थ्यो। युवाहरूको यो स्वतःस्फूर्त अग्रसरतापछि स्थानीय पालिकाले पनि सरसफाइ तथा पुनर्स्थापनामा चासो र सक्रियता देखाएको अर्यालले जानकारी दिनुभयो ।
यो अभियानलाई आइतबार गल्छी र गजुरी दुवै क्षेत्रबाट गलौँदी, फुर्केखोला हुँदै मलेखुसम्म विस्तार गरिने योजना अर्यालको भनाई छ । आईतबार दोस्रो दिनको श्रमदानका लागि काठमाडौँ र दोलखाका युवाहरू तथा डा. कृष्णमान शाक्यको अगुवाइमा विभिन्न संस्थाबाट थप जनशक्ति परिचालन हुँदैछन्।
अस्पताल र विद्यालयजस्ता अत्यावश्यक सेवा छिटो सञ्चालनमा ल्याउनु नै अहिलेको मुख्य दायित्व रहेको उल्लेख गर्दै आयोजकहरूले विपद्को यस कठिन घडीमा हातेमालो गर्न इच्छुक सबैलाई श्रमदानमा जोडिन आह्वान गरेका छन्।
लेखकको बारेमा
![]()
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित
कला, विचार/मनोरञ्जन२०८३ भाद्र २९, सोमबार ११:३२आमाको पर्खाइ र दशैँको भावनासहित ‘आ बाट आमा २’ को फस्टलुक
समाचार२०८३ भाद्र २९, सोमबार ०९:५८फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण







