संस्कृत युवा मञ्च नेपालको आयोजनामा गुरुकुल स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

पोखरा । संस्कृत युवा मञ्च नेपालको आयोजनामा पोखरा महानगरपालिकाभित्रका गुरुकुलहरूबीच गुरुकुल स्तरीय हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
विद्यार्थीहरूमा सामाजिक, समसामयिक, संस्कृत, वैदिक तथा सांस्कृतिक विषयसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न गुरुकुलका बटुक विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा धर्म, संस्कृत, वेद–वेदाङ्ग, सामाजिक विषय, नेपाली मौलिक संस्कृति तथा समसामयिक घटनाक्रमसँग सम्बन्धित विभिन्न प्रश्नहरू समावेश गरिएको थियो।
कार्यक्रमको स्वस्तिवाचन संस्थाका सदस्य सोमनाथ सुवेदीले गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री भवानीशंकर शर्माले गर्नुभएको थियो। स्वागत मन्तव्यका क्रममा उहाँले विद्यार्थीहरूमा धार्मिक तथा वैदिक ज्ञानसँगै सामाजिक चेतना, संस्कृत भाषा तथा आफ्नो मौलिक संस्कृति र परम्पराप्रतिको रुचि बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद पौडेलले संस्कृत युवा मञ्च नेपालले संस्कृत, धर्म, संस्कृति तथा वैदिक परम्पराको संरक्षण र नयाँ पुस्तामाझ यसको महत्व स्थापित गर्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, संस्थाका वरिष्ठ सल्लाहकार सह.प्रा. डा. श्री भोलानारायण रेग्मीले शुभकामना मन्तव्य दिँदै हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, स्मरणशक्ति, तार्किक क्षमता, आत्मविश्वास तथा प्रस्तुतीकरण सीप विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई हार–जितभन्दा पनि ज्ञान प्राप्ति र आफ्नो क्षमता विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
विशिष्ट अतिथि विन्ध्यवासिनी मन्दिरका उपाध्यक्ष सूर्यप्रसाद सुवेदीले संस्कृत तथा वैदिक शिक्षाको संरक्षण र प्रवर्द्धनमा गुरुकुलहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई आधुनिक ज्ञानसँगै आफ्नो धर्म, संस्कृति र मौलिक परम्पराको ज्ञान हासिल गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व स्वामी श्री निर्भयानन्द महाराजले विद्यार्थीहरूलाई आफ्नो धर्म, संस्कार, संस्कृति र वैदिक परम्पराप्रति गौरव गर्दै ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। उहाँले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई असल संस्कार र चरित्र निर्माणको आधार हुनुपर्ने बताउँदै सहभागी विद्यार्थीहरूलाई शुभाशीर्वाद प्रदान गर्नुभयो।
विद्यार्थीहरूका लागि हाजिरीजवाफ प्रतियोगिताको सम्पूर्ण नेतृत्व संस्कृत माध्यमिक विद्यालयका गुरु श्री रामु पौडेलले अत्यन्त प्रभावकारी ढंगले गर्नुभएको थियो। साथै उहाँले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र संस्कारको महत्वबारे मार्गदर्शन गर्दै शुभाशीर्वचन समेत प्रदान गर्नुभएको थियो।
प्रतियोगितामा पोखरा चिसारखोला वेदविद्याश्रमका बटुकहरू दिलीप पौडेल, आरोहण दाहाल र सुमन घिमिरेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरे।
त्यस्तै, गुप्तेश्वर वेद विज्ञान पाठशालाका बटुकहरू उज्वल पौडेल, पुनित तिमिल्सिना र सबिन भण्डारीले द्वितीय स्थान हासिल गरे।
त्यसैगरी, सिद्ध परोपकार वैदिक गुरुकुलका बटुकहरू अनुज जमरकट्टेल, अभिनव न्यौपाने र समर्पण सापकोटाले तृतीय स्थान हासिल गरे।
प्रतियोगितामा प्रश्न तथा अंक लेखनसम्बन्धी कार्यमा अर्जुन पौडेल र केशव आचार्यले महत्वपूर्ण सहयोग गर्नुभएको थियो। त्यस्तै कार्यक्रमका विभिन्न व्यवस्थापकीय तथा अन्य पक्षमा गिरिराज पौडेलले महत्वपूर्ण सहयोग गर्नुभएको थियो।
कार्यक्रमको समापन मन्तव्य श्री महेन्द्र पौडेलले गर्नुभएको थियो। उहाँले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, गुरु, विद्यार्थी, सहयोगी तथा आयोजक संस्थाका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको सञ्चालन संस्कृत युवा मञ्च नेपालका सचिव लक्ष्मण पौडेलले गर्नुभएको थियो। उहाँले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।
प्रतियोगिताले गुरुकुलमा अध्ययनरत बटुक विद्यार्थीहरूमा धार्मिक तथा वैदिक ज्ञानसँगै सामाजिक चेतना, समसामयिक विषयको जानकारी, संस्कृत भाषा–साहित्य तथा नेपाली मौलिक संस्कृति र परम्पराप्रतिको रुचि बढाउन महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
संस्कृत युवा मञ्च नेपालले आगामी दिनमा पनि नयाँ पुस्तालाई धर्म, संस्कार, संस्कृत, वेद, संस्कृति तथा सामाजिक चेतनासँग जोड्ने यस्ता ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र १५, सोमबार १२:०८संस्कृत युवा मञ्च नेपालको आयोजनामा गुरुकुल स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
खेलकुद२०८३ भाद्र १५, सोमबार ०६:४८एसिसी प्रिमियर कप: नेपालले आज बहराइनविरुद्ध खेल्दै
समाचार२०८३ भाद्र १४, आईतवार २०:४९आठ हजार ७३० जनाको उद्धार,मृतकको सङ्ख्या सात सय ८८
समाचार२०८३ भाद्र १४, आईतवार १८:५५कृष्णभिर र गजुरीको परेवाभिरमा आएको पहिरोकारण पृथ्वीराजमार्ग अवरुद्ध कायमै








