स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन

स्वास्थ्यमन्त्रीले गरे भरतपुर आँखा अस्पतालको अनुगमन

चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले मंगलबार भरतपुर आँखा अस्पतालको अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मन्त्री तामाङले त्यहाँ उपचाररत बिरामीसँग संवाद गरेका थिए। पर्साको ठोरीमा सञ्चालित आँखा अस्पतालमा उपचारका लागि आएका भारतीय बिरामी थप उपचारका लागि भरतपुर आएकाबारे उनले चासो लिएका थिए

ठोरीमा मोतियाबिन्दु र आँखामा पलाएका मासुको शल्यक्रिया बाहेकका शल्यक्रियाका लागि थप उपचारका लागि भरतपुर आउने गर्दछन् । उनीहरुले मन्त्री तामाङसँग कुरा गर्दै आफूहरु आँखाको उपचार गर्न नेपाल आउने गरेका बताए। अस्पतालको सेवा राम्रो भएको उनीहरुको प्रतिक्रिया थियो।

नेपाल नेत्रज्योती सङ्घ चितवनले सञ्चालन गरेका आँखा अस्पताल र उपचार केन्द्र गरी २५ स्थानबाट सेवा दिँदै आएको छ । वार्षिक १३ हजारको हाराहारीमा भारतीय बिरामी भरतपुर आँखा अस्पताल र त्यस मातहतका केन्द्रमा उपचारका लागि आउने गरेका छन्।

मन्त्री तामाङले अस्पताल निरीक्षणपछि नेपाली मात्र नभएर भारतीय बिरामीको उपचार केन्द्र बनेकामा प्रसन्नता व्यक्त गरे। बागमती प्रदेश सरकार र आँखा अस्पतालसँग सहकार्य गरेर आँखा उपचारमा लाग्नुपर्नेमा उनको जोड थियो। अस्पताल सञ्चालन भइरहेको जग्गा भरतपुर अस्पतालको नाममा भएकामा यसलाई सहजिकरण गरेर आँखा अस्पतालको नाममा हाल्न आफूले पहल गर्ने मन्त्री तामाङले बताए।

हाल आँखा अस्पताल सञ्चालनमा रहेको जग्गा सङ्घीय सरकारले मन्त्रिपरिषद्‌बाट आँखा अस्पताललाई उपलब्ध गराउने निर्णय भए पनि लालपूर्जा आँखा अस्पतालले पाएको छैन। मन्त्री तामाङले आँखा उपचारमा सामुदायीक क्षेत्रबाट भएको योगदान प्रशंसनीय रहेको बताए।

सो अवसरमा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठले चितवन र छिमेकी जिल्लाहरुमा आँखा उपचारमा योगदान पुर्‍याउँदै आएको मन्त्री तामाङलाई जानकारी दिए। सरकारी, गैरसरकारी र नीजि क्षेत्रको सहयोगमा अस्पतालले आम नागरिकलाई सेवा दिन सकेको उनको भनाइ छ । हरेक वर्ष तीन लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा दिने गरेको उनले जानकारी दिए।

यो पनि पढ्नुहोस् :  गण्डकीका स्वास्थ्य सचिवको जिम्मेवारी खोसियो निवर्तमान मन्त्रीमाथि पनि छानबिन

नेपाल नेत्रज्योती सङ्घ चितवनका उपसभापति तेजेन्द्र खड्का, सचिव केशव अधिकारी, वरिष्ठ अस्पताल प्रशासक दयाशङ्कर चौधरीलेलगायतले अस्पतालका बारेमा मन्त्री तामाङलाई जानकारी गराएका थिए।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   3   =