आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक

आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक

नारायणगढ (चितवन), १८ असोज । आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् । भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा हिमाल गिरीले आँखाको स्वास्थ्यका लागि विशेषगरी ४० वर्ष उमेर पुगेपछि नियमित परीक्षण आवश्यक रहेको बताएका छन् ।

उनले भने, “आँखालाई सुरक्षित नियमित जाँच गरी समस्या पहिचान गर्नु प्रमुख आवश्यकता हो ।” उनका अनुसार उच्च रक्तचाप, मधुमेह र थाइराइडजस्ता रोगले आँखामा असर पार्न सक्ने भएकाले त्यस्ता समस्या भएका व्यक्तिले नियमित आँखा परीक्षण गराउनुपर्छ ।

आँखामा चोटपटक लाग्न सक्ने जोखिमयुक्त काम गर्ने व्यक्तिले सुरुदेखि सावधानी अपनाउनुपर्नेमा डा गिरीले जोड दिए । वेल्डिङलगायत काम गर्दा आँखामा चोट लागेमा घरमै बसेर उपचार गर्ने, आँखामा पानी छ्याप्ने वा मेडिकलबाट औषधि किनेर प्रयोग गर्नुभन्दा तत्काल आँखा उपचार केन्द्र वा अस्पतालमा सम्पर्क गर्न उनले सुझाव दिए ।

हाल मौसमी परिवर्तनका कारण हुने सिजनल एलर्जीबाट आँखामा चिलाउने, रातो हुने तथा आँसु आउने समस्या देखिन सक्ने उनले बताए । आँखा पाक्ने रोग सरुवा हुने भएकाले सङ्क्रमित व्यक्तिले प्रयोग गर्ने रुमाल, तौलिया, सिरानीलगायत व्यक्तिगत सामग्री अरूले प्रयोग गर्न नहुने उनको सुझाव छ ।

भरतपुर आँखा अस्पतालबाट तीन लाखभन्दा बढीलाई सेवा

नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत वर्ष आफ्ना विभिन्न सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढी बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको जनाएको छ ।

अस्पतालका बाह्य कार्यक्रम संयोजक एवं सूचना अधिकारी रमेश घिमिरेका अनुसार नेपाल नेत्रज्योति सङ्घका देशभर ४४ शाखामार्फत २८ वटा आँखा अस्पताल सञ्चालनमा छन् । चितवन शाखाद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विशेष सेवासहितको केन्द्रीयकृत आँखा अस्पताल हो ।

उनले भरतपुरस्थित मुख्य अस्पतालमा दैनिक ७०० देखि ८०० जनासम्म बिरामी उपचारका लागि आउने गरेका जनाउँदै दैनिक ३० देखि ४० जनासम्मको आँखाको शल्यक्रिया हुने गरेको बताए । भरतपुरको ओरालोमा रहेको सिटी क्लिनिकबाट नेत्ररोग विशेषज्ञसहितको टोलीले दैनिक १०० देखि १५० जनासम्मलाई सेवा दिँदै आएको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :  जापानिज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

अस्पतालले पर्साको ठोरी र नवलपरासीको कावासोतीमा सेकेन्डरी आँखा अस्पताल सञ्चालन गर्दै आएको छ । ती अस्पतालमा मोतिबिन्दुको नियमित शल्यक्रिया हुने गरेको छ । सर्लाहीको ईश्वरपुर र नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित चोरमारामा सर्जिकल सेन्टर सञ्चालनमा छन्, जहाँ महिनामा एकपटक शल्यक्रिया सेवा दिइने गरिएको सूचना अधिकारी घिमिरेले उल्लेख गरे ।

चितवनका सात वटै पालिका तथा नवलपरासीका आठमध्ये सात पालिकासहित बारा, धादिङ र तनहुँका विभिन्न स्थानमा गरी २० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको घिमिरेले बताए । नवलपरासीको बुलिङटारमा पनि हालै आँखा उपचार केन्द्रबाट सेवा सुरु गरिएको उनले जानकारी दिए ।

गत वर्ष अस्पतालका सबै सेवा केन्द्रमार्फत तीन लाखभन्दा बढीले आँखा उपचार सेवा लिएका र १५ हजारभन्दा बढीको शल्यक्रिया गरिएको उनले बताए । अस्पतालले समुदायमा आधारित सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब, विपन्न तथा असहाय बिरामीलाई लक्षित गरी निःशुल्क उपचारसमेत गर्दै आएको छन् । अस्पतालका अनुसार गत वर्ष करिब चार हजार ५०० जनाले निःशुल्क सेवा पाएका थिए ।

डा घिमिरेले भने, “हामी वर्षमा करिब ३० वटा स्थानमा पुगेर शल्यक्रिया शिविर गर्छौं भने करिब १५० वटा स्क्रिनिङ शिविर सञ्चालन गर्छौँ । स्क्रिनिङ शिविरबाट पहिचान भएका बिरामीलाई यहाँ ल्याएर शल्यक्रिया गर्छौँ ।” उनका अनुसार मोतिबिन्दुको एक व्यक्तिको शल्यक्रियामा अस्पतालको हिसाबले करिब रु नौ हजार खर्च हुने भए पनि सामाजिक उत्तरदायित्वअन्तर्गत लक्षित बिरामीको शल्यक्रिया निःशुल्क गर्ने गरिएको छ ।

अस्पतालले उपचार सेवासँगै आँखा स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सम्बन्धनमा तीन वर्षे अप्थाल्मोलोजी तथा चार वर्षे ‘ब्याचलर इन अप्टोमेट्री’ अध्ययन हुँदै आएको छ । स्कुल अफ हेल्थ साइन्सको सहकार्यमा ‘डिप्लोमा इन अप्थाल्मिक असिस्टेन्ट’को पढाइसमेत सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सामाजिक अगुवा, विद्यालयका शिक्षक तथा स्वास्थ्य संस्थाका कर्मचारीलाई आँखा स्वास्थ्यसम्बन्धी आधारभूत तालिमसमेत दिइँदै आएको छ । दातृ संस्थाको सहयोगमा ५० वर्षभन्दा माथिका नागरिकको घरघरमै पुगेर आँखा परीक्षण गर्ने तथा आवश्यक परेका बिरामीलाई अस्पताल ल्याउने वा मोबाइल भ्यानमार्फत घरमै पुगेर सेवा दिने कार्यक्रमसमेत सञ्चालन भइरहेको घिमिरेले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :  भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   10   =