दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन अब ३० दिन मात्र बाँकी रहँदा आयोजकले तयारीलाई थप तीव्रता दिएका छन् । प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने उद्देश्यसहित आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालनका काम अघि बढाइएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताको ३० दिने काउन्टडाउनको औपचारिक सुरुवात गर्दै सङ्घीय सरकार, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाबीचको सहकार्यमा तयारीका काम भइरहेको जानकारी दिए ।
उनले राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउनु सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सम्बन्धित निकाय र सरोकारवालालाई आ–आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे । कर्णालीमा आयोजना हुन लागेको यस महत्त्वपूर्ण प्रतियोगितालाई सफल बनाउन प्रदेश तथा स्थानीय सरकारले विशेष प्राथमिकताका साथ काम गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
मन्त्री पोखरेलले प्रतियोगिताको प्रचारप्रसारलाई थप व्यापक बनाइने बताउँदै सङ्घीय सरकार आयोजनालाई सफल बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले दशौँ राष्ट्रिय खेलकुद प्रदेशको प्रतिष्ठासँग जोडिएको विषय भएकाले सफल आयोजना प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । प्रदेश सरकार सहआयोजक भए पनि प्रतियोगिता सम्पन्न गर्नु समग्र कर्णालीको गौरवको विषय भएको उनको भनाइ थियो ।
उनका अनुसार रङ्गशाला निर्माणसँग सम्बन्धित पूर्वाधारका काम सम्पन्न भइसकेका छन् । मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी खेलाडी तथा अतिथिको आवास व्यवस्थापन र आवश्यक सुविधा सुनिश्चित गर्न प्रदेश सरकारले काम गरिरहेको छ ।
सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रतियोगिता सफल बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
यसैगरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले प्रतियोगिताबारे देशव्यापी प्रचारप्रसार गर्ने र आयोजनालाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिए ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गर्दै आगामी एक साताभित्र रङ्गशालाका संरचना हस्तान्तरण गर्ने तयारी रहेको बताए ।
प्रतियोगिताको मिति नजिकिँदै गर्दा पूर्वाधार, व्यवस्थापन र प्रचारप्रसारका गतिविधिलाई एकसाथ अघि बढाइएको आयोजकले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १८, मंगलवार ११:१४पृथ्वी राजमार्ग : मलेखु–मुग्लिङ सडकखण्ड आजपनि बन्द
खेलकुद२०८३ कार्तिक १७, सोमबार २१:०५चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
स्वास्थ्य/जानकारी टिप्स२०८३ कार्तिक १७, सोमबार २०:५९पुस १ देखि स्वास्थ्य बीमा सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
खेलकुद२०८३ कार्तिक १७, सोमबार २०:५५दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र









