चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक

चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक

चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी


सेलिब्रेटी नेपाल। नेपाल र भारतका चलचित्रकर्मी तथा प्रतिष्ठित निर्माण संस्थाहरूको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक गरिएको छ। तिहारको अवसर पारेर निर्माण पक्षले ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा चलचित्रको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो। पोस्टर सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा तयार पार्ने लक्ष्य राखिएको छ। चलचित्रको लेखन तथा निर्देशनको जिम्मेवारी किङ योगीले सम्हाल्नेछन् भने चलचित्र पत्रकारसमेत रहेका सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन्।

नेपाल र भारतको संयुक्त सहकार्यमा निर्माण हुन लागेको चलचित्रको पूर्वनिर्माण अर्थात् तयारीको काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायाङ्कन आगामी असार महिनादेखि सुरु गर्ने तयारी गरिएको छ। चलचित्रको करिब ३० प्रतिशत छायाङ्कन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ। भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत चलचित्रका महत्वपूर्ण दृश्यहरू छायाङ्कन गर्ने योजना रहेको छ।

चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारहरूको अभिनय रहनेछ। भारतका केही चर्चित कलाकारसँगै नेपाली कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहने भए पनि कलाकारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।

ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको चलचित्रको सम्पादन, रङ संयोजन, ध्वनि डिजाइन, दृश्य प्रभाव, डिजिटल इन्टरमिडियट तथा प्रचार सामग्रीको डिजाइनलगायत प्रदर्शनपछिका अधिकांश काम भारतका प्रतिष्ठित कम्पनी र अनुभवी प्राविधिक टोलीसँगको सहकार्यमा गरिने निर्माण पक्षले जनाएको छ।

चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारीसमेत भइरहेको छ। अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित विश्वका अग्रणी ओटीटी अर्थात् इन्टरनेटमार्फत चलचित्र हेर्न सकिने डिजिटल प्लेटफर्महरूसँग वितरण तथा प्रदर्शनका विषयमा छलफल भइरहेको पनि निर्माण पक्षले जानकारी दिएको छ। यससम्बन्धी अन्तिम निर्णय भने छिट्टै सार्वजनिक गरिने बताइएको छ।

यो पनि पढ्नुहोस् :  प्राविधिक कारण ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने

पहिलो झलक सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु, कलाकार, निर्माण पक्ष र अन्तर्राष्ट्रिय प्रदर्शन योजनाबारे दर्शकमा उत्सुकता बढ्ने अपेक्षा गरिएको छ। नेपाल र भारतका चलचित्र उद्योगबीचको सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखिएको ‘मोनालिसा ब्लडी लभ’ नेपाली चलचित्र क्षेत्रका लागि महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनाका रूपमा हेरिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   6   =