हर्दा खहरे बोरिङ सिचाइको उद्घाटन

हर्दा खहरे बोरिङ सिचाइको उद्घाटन

मकवानपुर –  मकवानपुरको बकैया गाउँपालिका –७ मा हर्दा खहरे बोरिङ सिचाइको उद्घाटन गरिएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको बोरिङको नेपाली काँग्रेसकी सह–महामन्त्री एवम् पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिना र बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री श्याम बहादुर खड्काले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । कुल ३६ लाख लागतमा सम्पन्न आयोजनाबाट १५ बिगाहा क्षेत्रफल जमिनमा सिचाई सुविधा उपलब्ध हुने बताइएको छ । उद्घाटन समारोहमा  बोल्दै सह–महामन्त्री उपाध्यायले जल र मलको संयोजन मिलाउन सके कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँले रासायनिक मलको कारण माटोको उर्वराशक्ति हास हुँदै गएकोमा चिन्ता व्यक्त गर्दैै रासायनिक मलको विकल्प खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । नेतृ उपाध्यायले अब जैविक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकारले पनि जैविक मेलामा अनुदानको व्यवस्था गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।आगामी आर्थिक वर्षका लागि नेपाल सरकारले जैविक मल प्रोत्साहनका लागि ८ अर्ब रुपैयाँ अनुदान विनियोजन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाई मन्त्री खड्काले नेपालमै रोजगारीको वातावरण बनाउन कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्ने धारणा राख्नुभयो । बागमती प्रदेशमा रहेका उर्वर जमिनमा मल, जल, बीउ र सिँचाईको उचित प्रबन्ध गरेर यही रोजगारी सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । उहाँले तीन तहको सरकारबिच समन्वय गरी विकास निर्माणका कार्यहरू अघि बढाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री खड्काले बेतेनीदेखि रक्सिराङसम्मको क्षेत्रमा अझै पनि खानेपानीको चरम  अभाव रहेको बताउँदै निर्वाचित जनप्रतिनिधिहरूले दल भन्दा माथि उठेर जनताका लागि काम गर्नुपर्ने बताउनुभयो । मन्त्री खड्काले अब ग्राउन्ड रिचार्ज प्रणालीको आवश्यकता रहेको पनि औँल्याउनुभयो ।

यो सिचाई आयोजनाले १० हर्सपावर क्षमताको पम्पमार्फत ८ लिटर प्रति सेकेन्ड पानी प्रवाह गर्न सक्ने क्षमता राख्ने भूमिगत सिँचाई आयोजना प्रमुख केशव जैशीले बताउनुभयो ।

बन्जर जमिनमा सिँचाई सुविधा पुगेपछि हर्दा खहरे टोलका किसानहरू खुसी भएका छन् । आकाशे पानीको भरमा वर्षको एक बाली मात्रै खेती गर्दै आएका किसानहरू वर्षभरि खेती गर्न पाउने भएपछि उत्साहित बनेका हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   7   =  

Protected by Spam Master