पोखरामा ट्रेकिङ गाइड र पोटर तालिम सुरु, पर्यटनमा रोजगारी र गुणस्तरको नयाँ सम्भावना

पोखरा । पोखराको पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले ट्रेकिङ गाइड र पोटर तालिम सुरु भएको छ। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरा–६, बैदामस्थित ताल बराही माध्यमिक विद्यालयमा सुरु भएको यो तालिमको उद्घाटन नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले गरे।
लामिछानेले पोखरामा पर्यटकको चाप निरन्तर बढिरहेको र निकट भविष्यमा सिधा अन्तर्राष्ट्रिय उडानहरू सुरु हुने बताए। उनले भने, ‘विदेशी पर्यटक सिधा पोखरा आउन थालेपछि दक्ष गाइड र पोटरको माग उच्च हुनेछ। यस्ता तालिमले युवाहरूको सीप अभिवृद्धि गरी स्वदेशमै रोजगारी सिर्जना गर्नेछ।’ उनले पर्यटनको बढ्दो सम्भावना र आवश्यक जनशक्तिको मागबीचको सम्बन्धलाई प्रस्ट्याएका छन्।

‘गाइड केवल बाटो देखाउने व्यक्ति होइनन्, उनीहरू हाम्रो संस्कृतिको जिउँदो दूत हुन् । ‘ नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) का तालिम संयोजक अजय ढकालले भने। उनले गाइडहरूको पेशागत स्तरवृद्धिका लागि तालिम अपरिहार्य रहेको बताए।
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरी भुजेलले गाइड र पोटरलाई “पर्यटनका राजदूत” को रूपमा विकास गर्नुपर्नेमा जोड दिए। “पर्यटकले नेपालमा प्रवेश गरेपछि पहिलो अनुभव गाइड र पोटरमार्फत नै लिन्छन्। उनीहरूको बोली, व्यवहार र प्रस्तुतिकरण नेपालको प्रतिनिधित्व गर्ने राजदूतसरह हुनुपर्छ,” उनले भने। उनले भने, “गाइडहरूले हाम्रो हिमाल, संस्कृति, जीवनशैली र आतिथ्य भावलाई विश्वसामु चिनाउने अवसर पाउँछन्।” उनले गाइड र पोटरको भूमिका देशको प्रतिष्ठासँग जोडिएको स्पष्ट हुने बताए ।

टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गाइड र पोटर क्षेत्रलाई व्यवस्थित गर्न लाइसेन्स प्रणालीलाई थप कडाइ गरिएको जानकारी दिए। ‘अब बिना तालिम र लाइसेन्स गाइडिङ गर्न नपाइने नियम बन्दैछ,’ उनले भने। “यो तालिमले गाइडहरूलाई कानुनी हैसियत, व्यवहारिक दक्षता र पेशागत इज्जत प्रदान गर्छ।” उनको भनाइले पर्यटन व्यवसायमा पारदर्शिता र गुणस्तर ल्याउने प्रयासलाई संकेत गर्छ।
‘यो पुस्तालाई अझ जिम्मेवार, सूचना–सक्षम र व्यावसायिक बनाइनेछ,’ टान गण्डकीका प्रथम उपाध्यक्ष तीर्थराज सुवेदीले भने। उनले हालसम्म टानले करिब ३ हजार जनालाई तालिम दिइसकेको र यो तालिम त्यसको निरन्तरता भएको बताए। उनको भनाइले यो तालिम संख्यात्मक वृद्धिमा मात्र नभई गुणात्मक रूपान्तरणमा केन्द्रित रहेको स्पष्ट हुन्छ।

तालिमले स्थानीय जनशक्तिलाई पर्यटनमा दिगो रूपमा आबद्ध गराउने लक्ष्य राखेको छ। ‘गाइड र पोटरले पर्यटकलाई आत्मीयता प्रदान गर्न सक्छन्, जसले स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्छ ।’ टान गण्डकीका द्वितीय उपाध्यक्ष तथा तालिम संयोजक मोहनप्रसाद सुवेदीले भने।
टान गण्डकीका सचिव गोपालकृष्ण संग्रौलाले ३५० जना तालिममा छनोट भएकाे बताए । ट्रेकिङ गाइडका लागि २५ दिन र पोटर गाइडका लागि १५ दिनको तालिम सञ्चालन हुनेछ। तालिम सम्पन्न भएपछि सहभागीहरूलाई रोजगारीका पर्याप्त अवसर उपलब्ध हुने उनले विश्वास व्यक्त गरे।
कार्यक्रममा नाथमका तालिम अधिकृत रतन साउद र ताल बराही माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले तालिमको प्रभाव र आवश्यकताबारे आफ्ना धारणा राखे। संयुक्त साझेदारीमा सञ्चालित यो तालिमले पोखराको पर्यटनमा गुणस्तर, आत्मीयता र रोजगारीका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ।

गाइडहरूलाई देशको सांस्कृतिक प्रतिनिधिको रूपमा स्थापित गर्न तालिमले चेतना र सीप दुवै प्रदान गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18558, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ८, सोमबार १२:५८प्रथम पिसिएम कप राष्ट्रिय जुनियर टेनिस:यु–१८ उपाधी शास्वतलाई, यु–१६ तर्फ सुरेन्द्र च्याम्पिन
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी







