प्रधानमन्त्रीबाट राष्ट्रिय झण्डा लिई पर्वतारोहणका लागि इण्डोनेशिया जाँदै पाण्डे

काठमाडौँ । विश्वका सातै महादेशका अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहनुभएका पर्वतारोही प्रकाशराज पाण्डे कास्ट्रेन्ज पिरामिड भनिने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल आरोहणका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।
आरोही प्रकाशराज पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आरोहण अभियानमा सफलताको शुभकामना दिई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानमा सफल रही स्वदेश फिर्न शुभकामना दिनुभयो । आरोही पाण्डे अगष्ट १९ मा इण्डोनेशिया तर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमाल सहित दर्जनको सङ्ख्यामा सफल आरोहण गरिसक्नुभएका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान शुरु गर्दै २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएको थियो भने सोही वर्षको नोभेम्बरमा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको सफल आरोहण गर्नुभयो । पाण्डेले यसै वर्ष फेब्रुअरीमा अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकी महादेशको उच्च शिखर अकोन्कागुआको सफल आरोहण पनि गरिसक्नु भएको छ ।
पाण्डेलाई शुभकामना दिन उहाँको जिल्लाका एमाले नेता कैलाश ढुङ्गेल समेत प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित हुनुहुन्थ्यो । एमाले बागमती प्रदेश अध्यक्ष एवं बागमती प्रदेशको पहिलो सरकारको अर्थमन्त्री रहिसकेका ढुङ्गेलले पाण्डेलाई जिल्लाकै गौरवको रुपमा चित्रण गर्दै हिमाल आरोहणको सफलता र देशको नाउँ चिनाउने कार्यमा सफल रहने शुभकामना दिनुभयो ।
रामेछाप लिखु तामाकोसी–७, तिल्पुङका पाण्डे हाल महालक्ष्मी नगरपालिका-२, ललितपुरमा बसोबास गरी पर्वतारोहण एवं सामाजिक जीवनमा सक्रिय हुनुहुन्छ । पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा सगरमाथाको आरोहण गर्नुभएको थियो । त्यसयता निरन्तर हिमालहरू चढिरहनुभएका पाण्डेले सेभेन समिटको विशेष अभियानको शुरुवात गरी नियमित अन्तरालमा महादेशीय उच्च हिमालको आरोहण गर्दै आइरहनुभएको छ ।
मकालु आउटफिटले सघाएको पर्वतारोही पाण्डेको यस अभियान मार्फत सदाझैँ जलवायु परिवर्तनको मुद्दा उठाउने उहाँले बताउनुभयो । आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरूका बारेमा आरोहण गर्ने हिमाल रहेको देश एवं अन्तर्राष्ट्रियरुपमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने प्रयास आफूले गरिरहेको उहाँले बताउनुभयो ।
पर्वतीय देशको बासिन्दा भएका कारणले जलवायु परिवर्तनको असर प्रत्यक्ष भोगेको हुँदा यसको बारेमा जनचेतना जगाउन र नीति निर्माणमा घच्घच्याउनु आफ्नो कर्तव्य रहेको उहाँले बताउनुभयो । जलवायु परिवर्तन निम्त्याउन नेपाल जस्तो देशको नगन्य योगदान रहेपनि यसका कारणले सिर्जित विषम परिस्थितिको सामना भने अन्य राष्ट्रका तुलनामा अझ बढी गरिरहनु परेको हुँदा जलवायु परिवर्तनको मुद्दा संसारका सबै देशहरूको गम्भीर चासोको विषय हुनुपर्ने पनि उहाँले बताउनुभयो ।
विभिन्न आदिवासी समूहहरूको उल्लेख्य बसोबास रहेको इण्डोनेशियाको पपुवा प्रान्तमा पर्ने यस हिमाललाई स्थानीय भाषामा पुन्जाक जाया नाउँले पनि चिनिन्छ । भूमध्य रेखीय क्षेत्रमा पर्ने ४८८४ मिटर अग्लो यो हिमाललाई डच समुद्र यात्री जोन कास्ट्रेन्स्जले विश्व सामु परिचित गराएका थिए जसका कारण उनकै नाउँमा विश्व समुदायले यस हिमाललाई चिन्दछ । यो हिमाल विश्वका सात महादेश र भौगोलिक क्षेत्रका उच्च हिमाल मध्येको एक हो । चुनढुङ्गाले बनेको ठाडो पर्वतीय भू बनोटमा पिरामिड आकारमा ठडिएका कारण पिरामिड भनिएको यो हिमाल आरोहीहरूका लागि निकै चुनौतीपूर्ण मानिन्छ ।
हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरूमा फहराएको नेपालको झण्डा अब इण्डोनेशियाबाट क्रमशः अमेरिका, अन्टार्कटिका हुँदै नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने आरोही पाण्डेले बताउनुभयो ।
मकालु आउटफिटको ब्रान्डमा हिमाल आरोहण गरिरहेका पाण्डेलाई विभिन्न पालिका, व्यावसायिक प्रतिष्ठान तथा सङ्घसंस्थाले आवश्यक आर्थिक सहयोग तथा माउन्टेनियरिंग गियरहरू उपलब्ध गराइरहेका छन् । अहिले व्यावसायिक तथा रणनीतिक साझेदारहरू आफूसँग जोडिने क्रम बढ्दै गएकोले आफ्नो अभियान छिटै सफल हुनेमा आरोही पाण्डेले विश्वास व्यक्त गर्नुभयो । इण्डोनेशिया पछि संयुक्त राज्य अमेरिकामा रहेको उत्तर अमेरिकी उच्च हिमाल माउन्ट डेनालीको आरोहण गर्ने लक्ष्य रहेको समेत पाण्डेले बताउनुभयो ।
लेखकको बारेमा

- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ आश्विन ३०, बिहीबार ०६:०८नेपालसँग ओमान पराजित « रिपोर्टर्स नेपाल
समाचार२०८२ आश्विन २९, बुधबार २२:३०पेट्रोलको मूल्य घट्यो
समाचार२०८२ आश्विन २९, बुधबार १९:४७नेपाल सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपका लागि छनोट
समाचार२०८२ आश्विन २९, बुधबार १७:५३धादिङमा भूमि समस्या समाधान आयोग पुनःस्थापनाको माग