काउन्सिलले मनायो ५६ औँ वार्षिकोत्सवः पुरस्कार वितरण भएन


काठमाडौँ ।
प्रेस काउन्सिलले नेपालले सोमबार ५६ औँ वार्षिकोत्सव मनाएको छ । पछिल्लो समय देशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै यसवर्षका अन्य कार्यक्रम स्थगन गर्दै काउन्सिलले सरल तरिकाले वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो । काउन्सिलका सदस्य नकुल अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलको ५० औँ वार्षिक प्रतिवेदन र अङ्ग्रेजी प्रकाशन मिडिया जर्नल सार्वजनिक गरियो । वार्षिकोत्सवका अवसरमा हुँदै आएका विशेष कार्यक्रम र पुरस्कार प्रदान हाललाई नगरिएको मुख्य अधिकृत झबिन्द्र भुसालले जानकारी दिनुभयो । अघिल्ला वर्षहरूमा काउन्सिलले राष्ट्रपति कार्यालयमा भव्य समारोह गरी वार्षिकोत्सव एवं पुरस्कार वितरण गर्दै आएको थियो ।
काउन्सिलको वार्षिक प्रगतिको सङ्क्षिप्त विवरण प्रस्तुत गर्दै मुख्य अधिकृत भुसालले काउन्सिलले हालैको जेन्जी आन्दोलनका कारण सञ्चार माध्यम र पत्रकारमा परेको प्रभाव, पत्रकार र मिडियामाथि पटकपटक हुने आक्रमण लगायतका विषयमा विशेष अध्ययन अनुगमन गर्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले काउन्सिलका पूर्वाधार, विद्यमान प्रणालीहरूमा सुधार गरेर डिजिटल काउन्सिल बनाउने, काउन्सिल ऐन, सम्बद्ध नियम, विनियम, कार्यविधि निर्देशिका, आचारसंहिता संशोधन, परिमार्जन तथा सङ्घीय संरचनाअनुसार स्थानीय तहसम्म सञ्चार माध्यम, पत्रकारको अध्ययन अनुगमन कार्य अबको कार्यभार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै अर्यालले कुनै पनि राजनीतिक परिवर्तन र उपलब्धिमा काउन्सिल कति पनि विचलित नभइ आफ्ना उद्देश्यमा सधैँ क्रियाशील रहँदै आएको र रहिरहने उल्लेख गर्नुभयो । आचारसंहिताको कार्यान्वयनमा काउन्सिलले सफलता प्राप्त गरेको बताउँदै उहाँले भन्नुभयो, ‘जसले इथिकल पत्रकारिता गर्छ, उही हो, मूलधार । मर्यादित पत्रकारिता गर्ने माध्यम र पत्रकार नै मूलधार हो भन्ने कुरा स्थापित हुँदै गएको छ ।’ नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सञ्चार माध्यमले तथ्यबिनाका सामग्री सम्प्रेषण गर्दा क्षति बेहोर्नुपरेको उल्लेख गर्नुभयो । काउन्सिलको भूमिका सञ्चार माध्यमको जवाफदेहिता अनुगमनतर्फ समेत बढेको उहाँको भनाइ थियो । शर्माले सञ्चार माध्यम कमजोर हुँदा देशी विदेशी शक्तिको चलखेल हुने बताउनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काले अहिलेको परिस्थितिमा काउन्सिलको महत्व र भूमिका अझै बढेको बताउनुभयो । मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले प्रादेशिक संरचनालाई सहयोगी निकायको रूपमा बुझिदिन अनुरोध गर्नुभयो । नेपाल बार काउन्सिलका उपाध्यक्ष तेजबहादुर रावलले काउन्सिलका ऐन, नियम, कानुन संशोधनमा सहयोग गर्न तयार रहेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपाल कर्मचारी सङ्घका अध्यक्ष रहमतुल्ला मियाँले कम जनशक्ति हुँदा पनि काउन्सिलले आफ्नो भूमिका प्रभावकारी बनाएर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा काउन्सिलका सदस्यहरू कुमारी निमा काफ्ले, केशवशरण लामिछाने, पदम राज जोशी, बालकृष्ण अधिकारी, विजयराज अधिकारी, शन्तराम बिडारी, नेपाल पत्रकार महासङ्घकी उपाध्यक्ष नितु पण्डित, कोषाध्यक्ष रामकृष्ण अधिकारी लगायत काउन्सिल कर्मचारीहरूको सहभागिता रहेको थियो । काउन्सिलका सदस्य सचिव एवं सूचना तथा प्रसारण विभागका महानिर्देशक उदय बहादुर रानामगरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण काउन्सिलका वरिष्ठ प्रशासकीय अधिृकत दीपक खनालले गर्नुभएको थियो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/09/22/10067/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २७, मंगलवार १२:५७प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा परेनन् : मुख्यमन्त्री पाण्डे
समाचार२०८३ आश्विन २६, सोमबार १४:३३असल छिमेकी सहकारीको अध्यक्षमा अधिकारकर्मी सुवेदी
समाचार२०८३ आश्विन २६, सोमबार १४:१९असल छिमेकी सहकारीकाे १७औँ वार्षिक साधारण सभा
समाचार२०८३ आश्विन २४, शनिबार २२:०३नौलो घुम्ती नेपालको अध्यक्षमा मंगलबहादुर नेपाली चयन








