प्रत्येक १५ दिनमा पर्ने एकादशीमध्ये आषाढ शुक्लपक्षको हरिशयनी एकादशी र कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशी अरूभन्दा अझ विशेष महत्त्वपूर्ण मानिन्छन्। नेपाली समाजमा यी दुई एकादशीलाई ठूली एकादशी भनिन्छ र श्रद्धाभक्तिपूर्वक व्रत उपवास गरिन्छ।

आज हरिबाेधनी एकादशीमा तुलसीकाे पूजाआजा गर्दै आजका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह गर्ने चलन छ। आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर खाने गरिन्छ।
एकादशीका अवसरमा गंगा नदीहरुमा ताेरण तार्ने तथा फूल तार्ने प्रचलन रहेकाे छ । यस अवसरमा पाेखराकाे सेतिनदीका विभिन्न स्थानमा नुहाउने, ताेरण तथा फूल तार्नेहरुकाे भक्तजनहरुकाे भिड लाग्छ । साथै विष्णुको मन्दिरमा दर्शनार्थीको घुईचाे हुन्छ ।
वर्षभरिका २४ र अधिकमास परेका वर्ष पर्ने २६ एकादशीमध्ये हरिबोधिनी एकादशीको विशेष महत्त्व छ। यो एकादशीमध्येको अन्तिम एकादशी हो।
मंसिर कृष्णपक्षको उत्पत्तिका एकादशीबाट सुरु भएको वार्षिक एकादशी–चक्र हरिबोधिनीमा आउँदा पूरा हुन्छ। यसपछि एकादशीको अर्को वार्षिक चक्र सुरु हुन्छ।







