२५ औं आहा रारा पोखरा गोल्डकप माघ २७ देखि, च्यारिटी डिनर नाइटबाट साढे १७ लाख बचत

ण्पोखरा ।
सहारा क्लब पोखराको आयोजनामा २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको मिति तय भएको छ । आगामी माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने क्लबले सोमबार पत्रकार सम्मेलनमा जनायो । यो संस्करण आहा रारा पोखरा गोल्ड कपको रजतजयन्ती संस्करण हो ।
क्लबका अध्यक्ष केशवबहादुर थापाले अखिल नेपाल फुटबल संघबाट उक्त समय तालिका प्राप्त भएको जानकारी गराउँदै सोहीअनुसार तयारी सुरु भएको जानकारी दिए ।
प्रतियोगितामा केही विदेशी टोलीले पनि भाग लिने भए पनि टुंगो नलागिसकेको बताए । सहारा क्लब पोखराले २०५८ सालबाट पोखरा रंगशालामा निरन्तर रुपमा संचालन गर्दै आएको राष्ट्रिय–अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप नेपालका कुनै पनि फुटबल प्रतियोगितामा निरन्तर हुने एकमात्र प्रतियोगिता हो ।
आहा रारा चाउचाउको उत्पादक हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगिताको संरक्षक पोखरा महानगर पालिका, विशेष सहयोग राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल संघ, कास्की जिल्ला फुटबल संघ, सहउपप्रायोजक पोखरा महानगरपालिका वडा नम्बर ९ रहेका छन् ।
कार्यक्रममा पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले आहा रारा पोखरा गोल्डकपले फुटबलको विकाससँगै पोखराको चिनारी फैलाउन मद्दत पुगेको बताए ।
मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले सहारा क्लबसँग सधैँ सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए ।
सहारा च्यारिटी डिनर नाइटबाट साढे १७ लाख बचत
सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ सहारा क्लब पोखराले आयोजना गरेको सहारा च्यारिटी डिनर नाइट–२०८२ को आयव्यय सार्वजनिक गरिएको छ ।
यसपालि नियमित देउसीभैलो कार्यक्रम स्थगित गरी क्लबले पहिलोपल्ट उक्त कार्यक्रम गरेको थियो । कात्तिक १४ गते पोखरामा सम्पन्न सहारा च्यारिटी डिनर नाइट कार्यक्रम भने अभूतपूर्व सफल बनेको छ ।
जसबाट १७ लाख ४१ हजार ६२६ बचत (केही उठ्न बाँकीसमेत) भएको क्लबले पत्रकार सम्मेलनबीच सार्वजनिक गरेको हो । कार्यक्रममा २४ लाख १९ हजार १७७ आम्दानी भएकामा खर्च कटाई सो रकम बचत भएको क्लब महासचिव गंगाराम पौडेलले बताए । आम्दानीतर्फ टिकटबाट १० लाख ८७ हजार, नगद सहयोग १० लाख ८९ हजार र उठ्न बाँकी २ लाख ४२ हजार छ ।
खर्चतर्फ सबैभन्दा बढी खाजा–खानामा ५ लाख ८३ हजार खर्च भएको उल्लेख छ । फोटो तथा भिडियोग्राफीमा ४० हजार, कलाकार प्रोत्साहन ३५ हजार, यातायातमा १० हजार, मञ्च डेकोरेसनमा ८ हजार ७ सय खर्च भएको छ ।
क्लबले २५ हजारभन्दा बढी सहयोग गर्ने दाताको नामसमेत सार्वजनिक गरेको छ । तीमध्ये हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष प्रेमकुमारी केसीबाट १ लाख ५१ हजार, निर्देशक प्रकाश केसीबाट १ लाख २५ हजार, सहारा युकेबाट १ लाख सहयोग प्राप्त भएको छ ।
क्लबका मानार्थ सदस्य एमबिई दिलीपकुमार गुरुङ सल्लाहकार टीकाबहादुर कार्की, साधारण सदस्य चन्द्रबहादुर गुरुङबाट जनही ५१ हजार सहयोग प्राप्त भएको छ । क्लब सहकोषाध्यक्ष विष्णु गुरुङले ५० हजार, क्लबका शुभेच्छुक विनोद गुरुङले ३० हजार सहयोग गरे ।
यस्तै, २५ हजार सहयोग गर्नेहरु सहारा युके सल्लाहकार दिलरास गुरुङ, तमु धिं युके अध्यक्ष जुमकाजी गुरुङ, सहारा क्लब युके संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ, गोर्खा मिडिया युकेका प्रबन्ध निर्देशक मिलन तमु, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, पूर्व सहकोषाध्यक्ष अशोक–पार्वती लालचन र क्लब शुभेच्छुक सरिता गुरुङ छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20093, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १९:०४प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात
समाचार२०८२ माघ १८, शनिबार १९:३०पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि
समाचार२०८२ माघ १८, शनिबार १९:२३तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती
समाचार२०८२ माघ १८, शनिबार १५:१५टाइगर कपः आर्मीलाई हराउँदै पर्वत भलिबल तेस्रो







