‘शोभित बस्नेतको निर्देशनमा काम गर्दा निकै सहज भयो’ अभिनेता सुरज पौडेल

काठमाडौँ। अष्ट्रेलियामा अध्ययनसँगै मोडलिङ गर्दै आएका सुरज पौडेलले फिल्म ‘पीआर’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेका छन्। आउँदो शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने यस चलचित्रले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्ने मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक दबाबलाई कथाको माध्यमबाट प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
फिल्मको प्रचार–प्रसारका लागि अहिले नेपाल आएका पौडेलले आफ्नो अभिनय यात्रा, फिल्ममा जोडिने अनुभवदेखि विदेशको व्यस्तताबीच सुटिङ गर्ने चुनौतीसम्म खुलेर साझा गरे। प्रस्तुत छ उनीसँग गरिएको विस्तृत कुराकानी
यो फिल्ममा कसरी जोडिनुभयो ?
अष्ट्रेलियामै शोभित बस्नेत सरले यस फिल्मका लागि अडिसन लिइरहनुभएको थियो। उहाँकी छोरी सलिना बस्नेतले मलाई म्यासेज गरेर अडिसन भइरहेको जानकारी दिनुभयो र सहभागी हुन सुझाव दिनुभयो। अभिनय गर्ने रहर पहिल्यै थियो, त्यसैले अडिसन दिएँ र चयन भएँ।
सलिनासँग चिनजान कहिलेदेखि ?
हाम्रो भेट सन् २०१९ मा ‘ग्लामर नेपाल’ मोडलिङ शोका क्रममा भएको हो। त्यहीँबाट हामी राम्रो साथी भयौँ। पछि उहाँले नै अडिसनबारे जानकारी दिनुभयो।
सलिनाकै भनाइमा अडिसन दिन जानुभयो कि शोभित बस्नेतसँग पनि पहिल्यै कुरा गर्नुभयो ?
सलिनाबाट थाहा पाएपछि मैले शोभित सरलाई म्यासेज गरी अडिसनको स्थान र समयबारे बुझें। उहाँले बोलाउनुभयो।
वान–लाइन अडिसनपछि उहाँले “के छ त तिम्रो विचार?” भनेर सोध्नुभयो। अष्ट्रेलियामा समय व्यवस्थापनको चिन्ता मनमा थियो, तर उहाँले “अतालिनु पर्दैन, स्क्रिप्ट पढ र निर्णय गर” भन्नुभयो। उहाँको कुराले मलाई धेरै आत्मविश्वास दिलायो।
उहाँले के भन्नुभएको थियो ? भन्न मिल्छ ?
मिल्छ। उहाँले भन्नुभएको थियो—“तिमीले स्क्रिप्ट पढिसकेपछि फिल्म गर्न सक्छु भन्ने आत्मविश्वास आफैं आउनेछ।”
त्यही रात स्क्रिप्ट पठाइदिनुभयो। पढेपछि यस फिल्ममा जोडिनै पर्ने महसूस भयो। कथाको करिब ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनसँग मेल खान्थ्यो। अष्ट्रेलियामा सुरुवाती दिनमा युवाले भोग्ने संघर्ष नै कथामा भेटेँ।
स्क्रिप्ट मन पर्नुको मुख्य कारण के हो ?
स्क्रिप्टमा समाजलाई सन्देश दिने गहिरो विषयवस्तु छ। अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको वास्तविकता स्पष्ट रूपमा देखाइएको छ। यो विषय बोलिनै पर्ने लागेकाले फिल्ममा जोडिने निर्णय गरेँ।
डेब्यु फिल्ममै काम गर्नु कत्तिको सहज रह्यो ?
जीवनमा कुनै पनि कुरा पूर्ण रूपमा सहज हुँदैन। तर शोभित बस्नेतजस्तो अनुभवी निर्देशकसँग काम गर्दा काम धेरै सहज भयो। उहाँले आफ्नो अनुभवका आधारमा हामीलाई निकै अनुकूल वातावरण दिनुभयो। उहाँजस्तो निर्देशक भेटिनु मेरो लागि ठूलो कुरा हो।
वर्कसप कत्तिको प्रभावकारी रह्यो ?
झन्डै डेढ महिना वर्कसप गरेर मात्रै हामी फ्लोरमा गएका हौँ। यसले क्यारेक्टर बुझ्न, संवादलाई व्यवहारिक ढंगले प्रस्तुत गर्न र आत्मविश्वास बढाउन धेरै मद्दत गर्यो।
अष्ट्रेलियाको व्यस्त दिनचर्याबीच सुटिङका लागि समय निकाल्न कति कठिन भयो ?
इच्छा भए असम्भव केही हुँदैन भन्ने कुरा मैले पनि अनुभूति गरेँ। त्यो बेला पढाइ, काम, मोडलिङ, क्रिकेट—सबै चलिरहेको थियो।
शोभित सरले सबै कलाकारको समयलाई मिलाएर सुटिङ तालिका बनाइदिनुभएकोले काम गर्न धेरै सहज भयो।
यसअघि अभिनय तालिम लिनुभएको थियो ?
हो, दुई–तीनवटा वर्कसप गरिसकेको थिएँ। अभिनयका आधारभूत क्लास पनि लिइरहेको थिएँ। त्यसैले फिल्ममा अभिनय गर्न त्यति गाह्रो भएन।
अन्त्यमा,अभिनयलाई निरन्तरता दिने सोच छ कि अष्ट्रेलिया फर्कने योजना ?
अष्ट्रेलियामा रहे पनि काम आयो भने नेपाल आउन मलाई कुनै समस्या हुँदैन। ‘पीआर’ का केही भाग अमेरिका र केही नेपालमा छायांकन हुँदा पनि म नेपाल आएर काम गरेर फर्किएको थिएँ।यति भन्न चाहन्छु ‘पीआर’ पछि पनि दर्शकले मलाई अन्य फिल्महरूमा देख्न पाउनुहुनेछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार २१:१५चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम सञ्चालन
समाचार२०८२ माघ २८, मंगलवार २०:२०फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार १६:२१गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु








