दौत्य सम्बन्ध स्थापनाको ५० बर्षका अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध विस्तारमा छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ ।
बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन् ।
सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गर्नुभयो ।
नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु ।” उहाँले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताउनुभयो । भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उहाँको भनाइ थियो ।
“नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ”, उहाँले भन्नुभयो ।
नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उहाँले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताउनुभयो ।
उहाँले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिनुभयो ।
भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उहाँले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिनुभयो । “दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ”, उहाँले भन्नुभयो ।
त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गर्नुभयो । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ नयाँ चुनौती देखिएको उल्लेख गर्दै उहाँले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनसक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २९, शुक्रबार १५:४६ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
समाचार२०८३ जेष्ठ २२, शुक्रबार २२:१३मनाङमा विश्व वातावरण दिवस भव्य रूपमा सप्पन्न , सरसफाइ तथा नृत्य प्रतियोगिताको आयोजना
समाचार२०८३ जेष्ठ २१, बिहीबार १७:३१ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
समाचार२०८३ जेष्ठ १०, आईतवार ११:२४फेवातालमा जेठ १८ गते ‘तेस्रो खुल्ला ढुङ्गा दौड प्रतियोगिता’ हुने, तयारी तीव्र









