काठमाडौं । प्रदर्शनको मिति नजिकिँदै गर्दा फिल्म ‘परिवर्तन’ को टिमले मोफसल टुरलाई तीव्रता दिएको छ। माघ ९ गतेदेखि हलमा आउन लागेको यो फिल्मको प्रचारका लागि निर्माण टिम यतिबेला पूर्वको झापामा केन्द्रित छ।
माघे संक्रान्तिको अवसरमा झापाको कन्काई माई नदीमा लागेको प्रसिद्ध मेला (माइमेला) मा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईलीले हजारौं दर्शकमाझ प्रस्तुति दिए। फिल्मको चर्चामा रहेको गीत ‘पाकेको चिउरी’ मा कलाकार र दर्शकहरू सँगै झुमेका थिए।
निर्देशक विजय केरुङले माइमेलामा देखिएको दर्शकको उत्साहले आफूहरूलाई थप हौसला मिलेको बताए। “हिजो माइमेलामा दर्शकसँग रमायौँ, आज झापाका विभिन्न स्कुल र कलेज पुगेर विद्यार्थीहरूसँग साक्षात्कार गर्नेछौँ,” उनले भने।
यसैबीच, फिल्मको ट्रेलरले युट्युबमा सुखद प्रतिक्रिया पाइरहेको छ। सार्वजनिक भएको तीन दिनमै यसलाई ११ लाखभन्दा बढी पटक हेरिएको छ। विशेषगरी एक्सन हिरोको पहिलो बनाएका सुशील श्रेष्ठको संवाद ‘पारसलाई मन परे दरबार, मन नपरे तरवार’ टिकटक र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘परिवर्तन’ ले सत्ताको पावर र त्यसको दुरुपयोगको प्रवृत्तिलाई एक्सन–सस्पेन्स कथावस्तुमा प्रस्तुत गरेको छ। फिल्ममा सुशील र अञ्जनाका साथै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका छ।
दीपक सिवाकोटीको कथा र लगानी रहेको फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन्। आरआर फिल्म्सले वितरण गर्ने यस फिल्ममा एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ।










