करिब ७ हजार दर्शकमाझ पोखरामा चलचित्र ‘कुमारी’को भव्य कन्सर्ट

करिब ७ हजार दर्शकमाझ पोखरामा चलचित्र ‘कुमारी’को भव्य कन्सर्ट

काठमाडौँ। माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’ को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा करिब ७ हजार दर्शकको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गर्‍यो।

कन्सर्टमा चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको तर्फबाट हुटिङको वर्षा भएको थियो। उनीहरूले अहिलेको चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा माहौल अत्यन्तै उत्साहित बनेको थियो। कलाकार द्वयले पोखरेली दर्शकको अभूतपूर्व मायाप्रति आभार प्रकट गर्दै माघ २३ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने चलचित्र ‘कुमारी’ हेर्न आग्रह समेत गरे।

साङ्गीतिक माहौललाई तताउन पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ का सदस्यहरूले चलचित्रका गीतहरू ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना चर्चित सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरेका थिए। चलचित्रका सबै गीतमा स्वर दिएका केहर र उनको ब्यान्डको प्रस्तुतिमा पोखरेली दर्शकहरू मज्जाले झुमेका देखिन्थे।

पोखरामा चलचित्र र कलाकारहरूप्रति देखिएको यो क्रेजले आफू निकै पुलकित भएको निर्देशक दिनेश राउतले बताए। स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उनले दर्शकको यो साथले चलचित्र प्रति थप उत्साह जगाएको उल्लेख गरे। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित यो चलचित्रको टोली अब माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा प्रस्तुत हुनेछ। आगामी माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर समेत सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   5   =  

Protected by Spam Master