आठौँ संस्करणको व्यास अल्ट्रा म्याराथन हुने

डुम्रे, ४ माघ । तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचानः व्यास नगरपालिकाको अभियान’ नारासहित आगामी माघ १६ गते सहिद दिवसका अवसरमा ‘आठौँ व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बर्सेनि आयोजना गर्दै आएको अल्ट्रा म्याराथन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । अल्ट्रा म्याराथन केवल खेलकुद प्रतियोगितामात्र नभई सहिदको बलिदान स्मरण गर्ने र प्रतिभा पहिचान तथा उजागर गर्ने अभियान भएको उनले बताए । पर्यटकीयस्थल व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास–८ सहिद गाउँ पुलिमराङमा ४४ किलोमिटर लामो दूरीको म्याराथन हुने नगरपालिकाले जनाएको छ ।
उहाँका अनुसार यस प्रतियोगिताले मगर र गुरुङ समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सहयोग गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग पुर्याउनेछ । नगरप्रमुख न्यौपानेले भने, “यो दौड हाम्रो इतिहास, संस्कृति र सहिदप्रतिको सम्मानसँग जोडिएको छ । यसका साथै मगर र गुरुङ समुदायको कला, संस्कार, संस्कृति प्रवर्द्धनमा टेवा पुगेको छ ।”
मानुङकोटबाट अलैचे, चापाघाट, अनसन चौतारी, सफा सडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँडिही, बर्लाची, सोतीबेँसी, बगुवा रिस्ती र बाहुन पोखरा हुँदै सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दौड सञ्चालन हुनेछ ।
व्यास नगरपालिका–६ का वडाध्यक्ष एवं नगर खेलकुद विकास समितिका संयोजक जीवन गुरुङ कुमारले अल्ट्रा म्याराथनले व्यास नगरपालिकाका ग्रामीण बस्ती, धार्मिकस्थल र ऐतिहासिक क्षेत्रलाई एउटै मालामा जोड्ने कार्य गरेको बताए । उनका अनुसार मानुङकोटदेखि पुलिमराङसम्मको मार्ग आफैँमा पर्यटन सम्भावनाले भरिपूर्ण छ । यस प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुगिरहेको गुरुङको भनाइ छ ।
नगरपालिकाका सूचना अधिकारी केदारराज आचार्यले प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो । धावकको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै विभिन्न स्थानमा चेकप्वाइन्ट, स्वयंसेवक, स्वास्थ्यकर्मी र प्राथमिक उपचार टोली परिचालन गरिने उहाँले बताउनुभयो । सहभागी धावकलाई आवश्यक सूचना, मार्गनिर्देशन र सुरक्षा व्यवस्थामा कुनै कमी नहुने उनको भनाइ छ ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट दुई सयभन्दा बढी व्यावसायिक तथा सौखिन धावकको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः रु ८५ हजार ७७, रु ६५ हजार ७७ र रु ५५ हजार ७७ नगद पुरस्कार प्रदान गरिने छभने पाँच जना धावकलाई सान्त्वना पुरस्कारस्वरूप रु १६ हजार ७७ प्रदान गरिनेछ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार ०८:५६सरकारले स्वास्थ्य बिमाको भुक्तानी नदिँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा
समाचार२०८२ माघ १९, आईतवार ०७:१३आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव, उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
समाचार२०८२ माघ १९, आईतवार ०७:०८घरघरमा स्वस्थानी व्रत कथा समापन गरिँदै








