‘बिगुल’ टिमको पश्चिम नेपाल यात्रा सम्पन्न

काठमाडौं । फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बिगुल’ को प्रचार–प्रसार अभियान थप तीव्र बन्दै गएको छ । सोही क्रममा फिल्मको टिमले एक सातासम्म चलेको पश्चिम नेपाल केन्द्रित दर्शक साक्षात्कार कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
यसअघि पूर्वी नेपालका विभिन्न सहरमा दर्शकसँग प्रत्यक्ष संवाद गरेको ‘बिगुल’ टिमले यसपालि बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगञ्ज र पोखरामा पुगेर दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गरेको हो । पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड हुँदै हेटौंडा र चितवनसम्मको टुरपछि निर्देशक रमेश कोइराला, कथाकार–निर्माता दिनेश कोइराला र अभिनेता नरेन खड्काको टोलीले गत साता पश्चिम नेपालको यात्रा तय गरेको थियो ।
दर्शकमाझ फिल्मबारे जानकारी दिँदा निकै उत्साहजनक प्रतिक्रिया पाएको निर्माता दिनेश कोइरालाको भनाइ छ । उनका अनुसार, “हामी पुगेका हरेक स्थानमा दर्शक ‘बिगुल’ हेर्न आतुर देखिनुहुन्थ्यो । स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी, नेपाल जेसिसका पदाधिकारी, विद्यालय–कलेज तथा विभिन्न पेशाकर्मीबाट उल्लेख्य सहयोग प्राप्त भयो । फिल्मले उठाएको जनताको आवाजप्रति सबै सकारात्मक हुनुहुन्छ ।”
अभिनेता नरेन खड्काले ‘बिगुल’ हरेक उमेर समूह र समुदायका दर्शकलाई जोड्ने सामग्री बोकेको फिल्म भएको विश्वास व्यक्त गरे । “बुटवलदेखि पोखरासम्म जहाँ–जहाँ पुग्यौं, सबै ठाउँमा फिल्मको विषयवस्तुले दर्शकको ध्यान तानेको पायौं । सबैजना प्रदर्शनको प्रतीक्षामा हुनुहुन्छ,” उनले भने ।
निर्देशक रमेश कोइरालाका अनुसार भुँइमान्छेको कथा बोल्ने ‘बिगुल’ ले समसामयिक राजनीतिक यथार्थलाई नजिकबाट चित्रण गरेको छ । वर्तमान राजनीतिक खिचातानी, पारिवारिक जिम्मेवारी र आम नेपालीका मौलिक हक–अधिकारको विषय उठान गरिएको फिल्मप्रति दर्शकले गहिरो चासो देखाएको उनले बताए । मोफसल केन्द्रित प्रचार–प्रसार कार्यक्रममा नेपाल जेसिसको उल्लेख्य साथ रहेको टिमले जनाएको छ । जेन्जीको भावनासमेत समेटिएको बताइएको ‘बिगुल’ टिमले मंगलबार पोखराका विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग समेत भेटघाट गरेको थियो ।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुतिमा निर्माण भएको फिल्ममा नरेन खड्कासँगै बेनीशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, नवअभिनेत्री मीरा पण्डित, मानश्री शर्मा तथा रवीन्द्र खड्काको अभिनय रहेको छ । महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । शिब ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनबी महर्जनको द्वन्द्व निर्देशन तथा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्मलाई तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका छन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र १८, बिहीबार २०:२९राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले लिए शपथ
समाचार२०८३ भाद्र १८, बिहीबार १९:४०साल्ट ट्रेडिङ कर्पोरेशनले धादिङबेशीमा नुन साविककै मूल्यमा र चिनी रु ११५ मा बिक्री वितरण गर्ने
समाचार२०८३ भाद्र १८, बिहीबार १८:३०विपद्को मैदानमा देखेको र भोगेको यथार्थ
समाचार२०८३ भाद्र १८, बिहीबार ११:५९तीजको दरको पैसा कटाएर बाढीपीडितलाई सहयोग, महाकालेश्वर महिला समूहले दियो ३५ हजार ५ सय









