मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना

मुस्ताङको दिगो पर्यटन र वातावरण संरक्षणमा ‘एक्याप’: पूर्वाधार निर्माणदेखि वन्यजन्तुमैत्री खेतीसम्मका योजना

जोमसोम, मुस्ताङ । मुस्ताङ जिल्लाको जोमसोमस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र दिगो पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा स्थानीय संस्कृति जगेर्नाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

मुस्ताङको हिमाली क्षेत्र प्रकृति, संस्कृति र पर्यटन एक–अर्कासँग समाहित रहेको र यसले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको इलाका कार्यालय जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो।

इलाका कार्यालय जोमसोमका प्रमुख राजेशप्रसाद गुप्ता

उहाँका अनुसार मुस्ताङमा दिगो पर्यटन प्रवर्द्धनका लागि एक्यापले पदमार्ग, पदयात्रा तथा ट्रेकिङ मार्गको व्यवस्थापन गर्दै आएको छ। जोमसोम विमानस्थलको प्रवेशद्वार क्षेत्रभित्र दायाँ–बायाँ प्रयोगमा नआएको जग्गामा करिब तीन लाख रुपैयाँको लागतमा व्यवस्थित पूर्वाधारसहितको प्रतीक्षालय निर्माण भएको गुप्ताले जानकारी दिनुभयो। जहाज ढिलाइ हुँदा यात्रुहरू बस्न मिल्ने गरि व्यवस्था गरिएको छ भने प्रतीक्षालय वरपर मौसमअनुसारका विभिन्न फूल तथा बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो।

जोमसोम विमानस्थलदेखि बजार क्षेत्र वरिपरि सडक बत्ती जडान

यहाँ आउने अधिकांश पर्यटकहरू पदयात्रा, सांस्कृतिक अवलोकन, धार्मिक स्थल भ्रमण तथा स्थानीय बजार अवलोकन गर्ने भएकाले जोमसोम विमानस्थलदेखि बजार क्षेत्र वरिपरि सडक बत्ती जडान गरी बजार क्षेत्रलाई झलमल्ल बनाइएको गुप्ताले जानकारी दिनुभयो। उक्त सडक बत्ती जडानका लागि इलाका कार्यालयबाट सात लाख रुपैयाँ, पालिकाबाट पाँच लाख रुपैयाँ तथा स्थानीय समुदायको सहयोगमा काम सम्पन्न गरिएको र यस क्षेत्रको परम्परागत संस्कृति र सम्पदा संरक्षणमा इलाका कार्यालयले महत्वपूर्ण योगदान पुर्‍याएको साथै स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार, महिला, युवा तथा किसान लक्षित विशेष कार्यक्रमहरू सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो।

स्याउ खेतीलाई संरक्षण गर्न संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेअन्तर्गत स्याउ खेती फार्ममा तारजाली जडान

यसै क्रममा टुकुचे गाउँका करिब ३२–३३ घरधुरीको जग्गामा रहेको सामूहिक स्याउ खेतीलाई संरक्षण गर्न संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेअन्तर्गत स्याउ खेती फार्ममा तारजाली जडान गरिएको छ। वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि जडान गरिएको उक्त तारजालीले स्याउ खेतीसँगै गाजर, आलु र रायोको सागजस्ता तरकारी बालीलाई समेत नाहुरलगायत अन्य वन्यजन्तुको जोखिमबाट जोगाउन सहयोग पुगेको आयोजना प्रमुख राजेशप्रसाद गुप्ताले बताउदै यसबाट किसानहरूलाई ठुलो राहत पुग्ने विश्वास प्रमुख गुप्ताले व्यक्त गर्नुभयो।

त्यसैगरि, यस क्षेत्रमा पर्यटकको संख्या बढ्दै गएकाले वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन योजनाअन्तर्गत अघि बढाइएको एक्याप जोमसोमका प्रकृति स्रोत संरक्षण सहायक दीपक ओलीले बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा करिब १० टन र चालु आर्थिक वर्षको पुस मसान्तसम्म करिब पाँच टन फोहोरमैला व्यवस्थापन गरिएको छ। उत्पादन हुने फोहोरलाई वर्गीकरण गरी राख्ने व्यवस्था गरिएको र सिसा, प्लास्टिक तथा क्यान–टिन छुट्याएर पोखरास्थित ग्रिन रोड वेस्ट म्यानेजमेन्ट कम्पनीमा पठाउने गरिएको छ। बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकासँगको समन्वयमा फोहोर संकलन गरी बेलिङ मेसिनमार्फत थिच्ने व्यवस्था छ। यसरी प्रेस गर्दा फोहोरको आयतन घट्ने भएकाले पहिले तीन पटक पठाउनुपर्ने फोहोर अहिले एक पटकमै पठाउन सकिने अवस्था बनेको ओलीले जानकारी दिनुभयो।

टुकुचेदेखि मार्फासम्म मुक्तिनाथ क्षेत्रभित्रका प्रत्येक पालिकाले फोहोर संकलन गरी कलेक्सन सेन्टरमा ल्याएर बेलिङ गर्ने व्यवस्था मिलाइएको छ। फोहोर व्यवस्थापनमा आमा समूह, स्थानीय बासिन्दा तथा युवा क्लबको सक्रिय सहभागिता रहेको ओलीले बताउनुभयो। पहिले पर्यटकको संख्या कम हुँदा फोहोर जलाउने गरिएको भए पनि अहिले वातावरण र मानव स्वास्थ्यमा असर नपरोस् भन्ने उद्देश्यले फोहोरलाई व्यवस्थित रूपमा संकलन गरी सुरक्षित तरिकाले रिसाइकल गर्ने गरिएको उहाँको भनाइ छ।

वैकल्पिक पदमार्ग क्षेत्रमा नदी कटान रोक्न ग्याबिन तारजालीको प्रयोग

यसैबीच, मुस्ताङको वैकल्पिक पदमार्ग क्षेत्रमा नदी कटान रोक्न ७२ वटा ग्याबिन तारजाली प्रयोग गरिएको छ। अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत जोमसोम क्षेत्रका विभिन्न स्थानमा नदीले बहाव परिवर्तन गरी पदमार्ग कटान गरेको ठाउँमा ग्याबिन तारजाली जडान गरिएको र स्थानिय बासिन्दा पर्यटकको सुरक्षालाई साथै पदमार्ग तथा वातावरणको संरक्षणका यस्ता गतिविधिहरूमा एक्याप सधैँ अग्रसर रहेको पनि ओलीले जानकारी दिनुभयो।

स्थानीय बासी चन्द्रबहादुर मगर

यद्यपि, पदमार्गका विभिन्न स्थानमा बाटो साँघुरो हुनु तथा समयमै मर्मत र सुधार नहुँदा पटक–पटक दुर्घटना हुने गरेको र केही स्थानमा पर्यटक तथा स्थानीय बासिन्दाले ज्यानसमेत गुमाउनुपरेको स्थानीय बासी चन्द्रबहादुर मगरले गुनासो गर्नुभएको छ। उहाँले एक्याप, स्थानीय पालिका तथा संरक्षण मूल समिति र उपसमितिहरूले पदमार्गको समयमै व्यवस्थापन र सुधारमा थप चासो र सहयोग गर्न आग्रह गर्नुभएको छ।

लेखकको बारेमा

बिष्णु प्रसाद बरालपोखरामा रहेर पत्रकारितामा सक्रिय बराल असल खबर डटकमका सम्वाददाता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   5   =  

Protected by Spam Master