मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला

फागुन १७, काठमाडौँ ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा प्रेस काउन्सिल नेपालले ‘मौन अवधि र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अनलाइन पत्रकार सङ्घको संयोजनमा काठमाडौँमा भएको अन्तरक्रियामा निर्वाचनको मौन अवधिमा सञ्चार माध्यमले के गर्न हुने के गर्न नहुने एवं सञ्चार माध्यमको भूमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको छ । छलफललाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा. कुमार इङ्नामले मतदातालाई अवाञ्छित तरिकाले प्रभावित पार्नेगरी कुनै पनि सामग्री तथा सङ्केत विषयवस्तु सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । ‘मतदातालाई अवाञ्छित तवरबाट प्रभावित पार्नेगरी सङ्केत, चिन्ह, विवरण अथवा त्यस्ता सामग्री प्रकाशन/प्रसारण गर्नुहुँदैन । यो बुझ्नुभएकै कुरा हो । ती कुराको परिपालना राजनीतिक दलमात्रै होइन, अरुले पनि कतिको गर्नुहुन्छ ?’ उहाँले प्रेस काउन्सिललाई आग्रह गर्दै भन्नुभयो, ‘केही जो मुख्य प्रतिष्पर्धी, उम्मेदवार भनेर सञ्चार जगत्ले उल्लेख गरेका र हो जस्तो लागेका सबै किसिमका उम्मेदवारका विषयमा वैध/अवैध, स्वस्थ/अस्वस्थ सबै किसिमका गतिविधि हुने शंका आम जनता सरकार सबैमा छ । यहाँहरूले त्यसको पनि अनुगमन गरिदिनुहुनेछ भन्ने सरकारको अपेक्षा छ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधि निर्वाचनको शुन्य समय भएको भन्दै राष्ट्रपतिबाट निर्वाचनको घोषणा भएबाट नै सञ्चारजगत्ले सकारात्मक भूमिका खेलेको बताउनुभयो । उहाँले पछिल्लो समय झुटा प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग अति नै भइरहेको बताउँदै सञ्चार जगतको गलत प्रचार रोक्ने भूमिकाको अपेक्षा आयोगले गरेको उल्लेख गर्नुभयो । उहाँले मौनअवधिपूर्व सम्प्रेषण भएका दलपक्षीय सामग्री एवं प्रचारात्मक सामग्री सेयर हुनेतर्फ सचेत गराउन्ुभयो । ‘मौन अवधि अगाडि आचारसंहिता लागु भइसकेपछाडि दल र दलका उम्मेदवारले मनोनयन दर्ता गरेपछि विविध प्रकारका साम्रगीहरु आए । यहाँहरुले पनि लेख्नुभयो । अब मौन अवधि सुरु भएपछि दलहरुका घोषणापत्र नीति तथा कार्यक्रम आदिको घनिभूत रुपमा छलफल गरेर सम्पूर्ण विश्लेषण गर्ने दायित्व यहाँहरुको हो । त्यो गर्नसक्नुहुन्छ ।’ उहाँले मतदाता शिक्षा र निर्वाचन आयोगका सामग्री सम्प्रेषणमा जोड दिन आग्रह गर्नुभयो ।
काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मौन अवधि झन् संवेदनशील समय भएकाले सञ्चार माध्यमको दायित्व स्वतः बढने हुनाले समाचार सम्प्रेषणमा गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले निर्वाचनको पूर्वसन्ध्यामा डिजिटल प्लेटफर्ममार्फत पर्नसक्ने भूराजनीतिक असरका विषयमा पनि सञ्चार माध्यम सजग रहनुपर्ने उल्लेख गर्नुभयो ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण भण्डारीले मौन अवधिको आचारसंहिता पूर्णपालना हुनैपर्ने जिकिर गर्नुभयो । निवार्चन अघि र मतदान अवधिमा समेत मतदाता प्रभावित पार्ने सामग्री सञ्चार माध्यमले सम्प्रेषण गर्दा त्यसको असर गुणात्मक रुपमा बढ्ने सङ्केत गर्नुभयो । उहाँले निर्वाचनको पूर्वसन्ध्यामा कसैको पक्ष र विपक्षका सामग्री देख्दा मतदाताको मुडमा तत्काल असर गर्ने बताउनुभयो । विश्वका कतिपय मुलुकले नेपालको निर्वाचन पद्धतिबाट सिको गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा पत्रकारहरू बैरागी जेठा, चुडामणि कोइराला, केपी ढुंगाना, धनबहादुर मगर, पवित्रा सुनार, भीम आत्रेय, सुसन धमला, नवराज चालिसे, अनुपराज ढुंगेल, राजिव तिमिल्सेना, विद्यार्थी अन्जना शाही शर्मा, प्रकाश कपाली लगायतले जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ दिँदै काउन्सिल सदस्य नकुल अर्यालले निर्वाचनका बेला पत्रकार आकर्षित हुने सम्पूर्ण विषय काउन्सिलले आफ्नो दायित्व कर्तव्य अनुसार गरिरहेको प्रष्ट पार्नुभयो । उहाँले पत्रकार र सञ्चार माध्यमका सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययनसमेत काउन्सिलले नै गरिरहेको प्रष्ट पार्दै २४ सै घण्टा स्वअनुगमन, उजुरी प्रणाली र हटलाइन नम्बर सक्रिय बनाइ काउन्सिलले अनुगमन गरिरहेको बताउनुभयो ।
सहभागीलाई स्वागत गर्दै काउन्सिल सदस्य बालकृष्ण अधिकारीले संवैधानिक सङ्कटका बेला घोषित निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने र यस्तो निर्वाचन पूर्ण सफल बनाउन सञ्चार माध्यमको सबैभन्दा महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो । काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो सत्रको सहजीकरण मुख्य अधिकृत झबिन्द्र भुसालले गर्नुभएको थियो भने दोस्रो सत्रको सहजीकरण सदस्य शन्तराम बिडारीले गर्नुभएको थियो । सूचना तथा प्रसारण विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य–सचिव छविन्द्र पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । दोस्रो सत्रको समापन अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले गर्नुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्य रामप्रसाद दाहाल, पूर्वसदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमला लगायत विभिन्न सञ्चार माध्यमका प्रकाशक एवं सम्पादकहरूको सहभागिता थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/03/01/11596/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन १७, आईतवार १९:३२मौन अवधिमा सञ्चार माध्यमको दायित्व झन् बढीः सरोकारवाला
समाचार२०८२ फाल्गुन १७, आईतवार १५:३८कास्की २ का एमाले उम्मेदवार रश्मि आचार्यले सामाजिक संजालबाट आज बेलुकी ८ बजे मतदातासँग प्रत्यक्ष संवाद गर्ने
समाचार२०८२ फाल्गुन १७, आईतवार १३:४९इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा
समाचार२०८२ फाल्गुन १७, आईतवार १०:१७उमेरले छेक्न नसकेको प्रचारः ७८ वर्षीय प्यासी कास्की २ मा रश्मि आचार्यलाई मत माग्दै घरदैलोमा







