रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को शीर्ष गीत सार्वजनिक

रामकृष्ण ढकाल निर्मित ‘मालती मंगले’को शीर्ष गीत सार्वजनिक

काठमाडौं। लोकप्रिय गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ‘मालती मंगले’ को शीर्ष गीत ‘सुनैको सपनी’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। आगामी वैशाख २५ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको साङ्गीतिक पाटोलाई लिएर दर्शकमाझ निकै उत्सुकता थियो।

रानी फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द, सङ्गीतकार उज्ज्वल सागरको सङ्गीत तथा स्वयं रामकृष्ण ढकाल र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको यो गीतले एउटा विशुद्ध ग्रामीण प्रेमकथाको भाव बोकेको छ।

गीत सार्वजनिक कार्यक्रमको सबैभन्दा विशेष र भावुक पल त्यति बेला बन्यो, जति बेला निर्माता तथा गायक रामकृष्ण ढकालले गीतका सङ्गीतकार उज्ज्वल सागरलाई आफ्नो हस्ताक्षरसहितको एउटा गितार उपहारस्वरूप प्रदान गरे। आफ्नो जादुमयी सङ्गीत भरेकोमा सम्मान स्वरूप दिइएको गितार ग्रहण गर्दै सङ्गीतकार सागरले यस टिमसँग जोडिएर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको बताए। उज्ज्वल आँखामा ज्योति नभएका सङ्गीतकार हुन्।

कार्यक्रममा बोल्दै निर्माता ढकालले चलचित्रको नाम सुन्दा धेरैलाई यो राष्ट्रकवि माधवप्रसाद घिमिरेको चर्चित गीतिनाटकमा आधारित हो कि भन्ने लाग्न सक्ने भन्दै त्यसलाई प्रस्ट पारे। उनले भने, “यो चलचित्र राष्ट्रकविको नाटकमा आधारित होइन। हाम्रै वरपर रहेको तर त्यो दृष्टिकोणबाट नहेरिएको एउटा सामाजिक प्रेमकथा हो यो। कथा मात्र नभएर साङ्गीतिक प्रेमकथा पनि भन्न सकिन्छ यसलाई।”

गीतकार आनन्द अधिकारीले गीतको भाव प्रस्ट्याउँदै भने, “यस गीतमा गरिबले पनि कसरी प्रेम गर्न सक्छन् भन्ने बुझाउन खोजेको छु। यो मायाको भन्दा पनि प्रेमको गीत हो। प्रेमको लागि कुनै स्वार्थ वा आवश्यकता हुँदैन भन्ने भावमा मैले यो गीत लेखेको हुँ।”

यस्तै, गायिका रचना रिमालले आफ्नो स्वर रेकर्ड गर्नका लागि निर्माता ढकालले लामो समय पर्खिएको भन्दै आश्चर्य र कृतज्ञता व्यक्त गरिन्। “मलाई लामो समय पर्खेर मेरो आवाजमा गीत रेकर्ड गर्नुभएकोमा रामकृष्ण दाइलाई धन्यवाद। मलाई पर्खनुहुन्छ भन्ने विश्वास नै लागेको थिएन,” उनले भनिन्।

यो पनि पढ्नुहोस् :  पर्दाको कथा, राजनीतिमा वास्तविकता | Celebrity Nepal

आफ्नो पहिलो निर्देशकीय चलचित्रमै विश्वास गरेकोमा निर्देशक प्रकु पाण्डेयले ढकालप्रति आभार प्रकट गरे। उनले सम्पूर्ण टिमको कडा मिहिनेतले एउटा उत्कृष्ट पारिवारिक चलचित्र तयार भएको बताए। अभिनेत्री वर्षा राउतले रामकृष्ण ढकाल जस्तो व्यक्तित्वले बनाएको चलचित्रमा अभिनय गर्न पाउनु नै आफ्नो लागि ठुलो कुरा भएको बताइन्। मुख्य अभिनेता विजय बराल भने अर्को चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण कार्यक्रममा उपस्थित हुन सकेका थिएनन्।

कार्यकारी निर्माता सागर ज्ञवालीले चलचित्रको अवधारणा सुन्नासाथ विश्वास गरी रामकृष्ण ढकाल लगानिको लागि तयार भएको स्मरण गरे। यसअघि नै चलचित्रको पोस्टर सार्वजनिक भइसकेको छ, जसमा विजय बराल र वर्षा राउतलाई निकै आत्मीय र प्रेमिल मुद्रामा देखाइएको छ। सार्वजनिक गीतले पनि सोही भावलाई निरन्तरता दिएको छ। यसको कथा निर्देशक प्रकु पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। उनीहरूका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रका छायाकार महेश पौडेल हुन् भने सम्पादन रोमी मोजेजको, रङ्ग संयोजन कृष्ण भण्डारीको, ध्वनि मिश्रण डिकेश खड्गीको रहेको छ। चलचित्रको डिजिटल वितरक ओएसआर डिजिटल तथा थिएटर वितरक आरआर फिल्म्स हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  ‘महाराजधिराज’ को शुभमुहूर्त, २५ गतेबाट छायांकन
लेखकसँग सम्बन्धित खबरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   2   =  

Protected by Spam Master