भव्य तयारीमा ‘पोखरा स्पोर्टस अवार्ड’ : समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य

पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने ‘पोखरा स्पोर्टस अवार्ड’लाई भव्य, सभ्य र थप प्रभावकारी बनाउने उद्देश्यसहित कास्की जिल्ला तथा गण्डकी प्रदेशका विभिन्न खेल संघसंग छलफल गरेको छ ।
आगामी बैशाख १८ गते पोखरामा हुने दशौं संस्करणको पोखरा स्पोर्टस अवार्डलाई खेलाडीमैत्री, पारदर्शी र समावेशी बनाउने लक्ष्यसहित सुझाव संकलन गर्न मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको होे । पौडेलले खेल क्षेत्रको वास्तविक अवस्था बुझ्दै अवार्डलाई अझ व्यवस्थित बनाइने स्पष्ट पारे ।
छलफलमा सहभागी संघका प्रतिनिधिहरूले अवार्डको स्तर उकास्न विगतका कमजोरी सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
उनीहरुले यस पटक कार्यविधि निर्माण गरेकोमा खुसी व्यक्त गर्दै त्यसलाई अझ सुधार गर्दै जान र अवार्डका सम्पन्न गर्नका लागि संघको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
गण्डकी प्रदेश आर्चरी संघका उपाध्यक्ष योगेन्द्र शेरचनले सबै खेल र खेलाडीलाई समेट्दै उनीहरूको प्रतिभा प्रस्तुत गर्ने वातावरण बनाउन सके अवार्ड अझ आकर्षक बन्ने बताए ।
टेबल टेनिस संघ गण्डकीका अध्यक्ष दिलिप जोशीले एउटै खेल र खेलाडी दोहोरिने प्रवृत्तिले नयाँ प्रतिभा ओझेलमा पर्ने भएकाले मूल्यांकन प्रक्रियामा सुधार आवश्यक रहेको धारणा राखे ।
फेन्सिङ संघ कास्कीका अध्यक्ष विजय शाहीले राष्ट्रिय स्तरमा नपुगेका तथा नयाँ खेललाई पनि अवार्डमा समेट्नुपर्नेमा जोड दिए । यसले खेल क्षेत्रको दायरा फराकिलो बनाउने उनको भनाइ थियो ।
जुडो संघ कास्कीका अध्यक्ष पदम बहादुर छन्त्यालले खेलाडीले राम्रो प्रदर्शन गरे पनि पर्याप्त प्रवद्र्धन नपाएको गुनासो गर्दै मञ्चले अवार्डमार्फत खेलाडीलाई प्रोत्साहन गरेकोमा धन्यवाद व्यक्त गरे ।
कबड्डी संघ गण्डकीका अध्यक्ष हरि जिसीले प्रदेशमै सीमित खेललाई पनि प्राथमिकता दिनुपर्ने र ‘पिपल्स च्वाइस’ अवार्ड छनोट निष्पक्ष हुनुपर्ने बताए ।
एथलेटिक्स संघ कास्कीका सचिव सिद्धान्त अधिकारीले खेलअनुसार फरक मापदण्ड आवश्यक पर्ने भएकाले कार्यविधिमा लचिलोपन आवश्यक रहेको बताए ।
सेपाकताक्रो गण्डकीका अध्यक्ष श्याम बहादुर श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेका खेललाई जनस्तरसम्म पु¥याउन अवार्ड महत्वपूर्ण माध्यम बन्ने बताए ।
ह्यान्डबल संघ कास्कीका अध्यक्ष चित्रबहादुर थापाले एकल र समूहगत खेललाई एउटै आधारमा मूल्यांकन गर्न नहुने उल्लेख गर्दै स्तरअनुसार छुट्टै मापदण्ड आवश्यक रहेको बताए ।
आर्चरी संघ कास्कीका वसन्त गौचनले जिल्ला स्तरमै सीमित खेललाई पनि अवार्डमा समेट्नुपर्नेमा जोड दिए । साथै, खो–खो संघका विशाल कुँवर, हक्कीका हित गुरुङ र पौडी संघ गण्डकीका अध्यक्ष आनन्द कुँवरले पनि समावेशीता, पारदर्शिता र खेलाडी प्रोत्साहनका विषयमा सुझाव दिएका थिए । पोखरा स्पोर्टस अवार्ड कार्यविधी निर्माण समितिका सदस्य राजन पौडेलले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले निर्माण गरेको कार्यविधिको बारेमा जानकारी गराएका थिए ।
छलफलबाट प्राप्त सुझावका आधारमा ‘पोखरा स्पोर्टस अवार्ड’लाई अझ समावेशी, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउने तयारी अघि बढाइएको मञ्चका महासचिव परशुराम शर्माले बताए ।
आगामी बैशाख १८ गते आयोजना हुने पोखरा स्पोर्टस अवार्डमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार, वर्ष उत्कृष्ट खेल संघसंस्था र पिपल्स च्वाइस अवार्ड गरी आठ विद्यामा अवार्ड प्रदान गरिदैछ । उक्त अवार्ड खेलाडी सम्मानमा गण्डकीकै ठूलो इभेन्ट हो ।
अवार्डका लागि गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकीसहित कास्कीका पोखरा महानगरसहित पाँचै वटा पालिकाको विशेष सहयोग रहनेछ । अवार्ड सफल पार्न विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=21253, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ चैत्र २२, आईतवार १७:५७भव्य तयारीमा ‘पोखरा स्पोर्टस अवार्ड’ : समावेशी र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य
समाचार२०८२ चैत्र २२, आईतवार ०६:१०१४ औं पोखरा महोत्सवको समिक्षा
समाचार२०८२ चैत्र २१, शनिबार १५:१७१४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र
समाचार२०८२ चैत्र २१, शनिबार १०:३८कलाकार सागर लम्साल ‘बले’ पक्राउ






