प्रेस काउन्सिलको आयोजनामा ’प्रदेशस्तरीय सञ्चार सम्बद्ध निकायसँग परामर्श’ सम्पन्न


काठमाडौँ ।
प्रेस काउन्सिल नेपालको आयोजनामा ’प्रदेशस्तरीय सञ्चार सम्बद्ध निकायसँग परामर्श’ बैठक सम्पन्न भएको छ । बिहिबार काउन्सिलको सभाहलमा सञ्चालन भएको कार्यक्रममा सातै प्रदेशका सञ्चार सम्बद्ध प्रतिनिधिहरूले पत्रकारिता र सञ्चार माध्यमको हकहितका लागि भइरहेका काम, प्रगति र वर्तमान चुनौतीका विषयमा आ–आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिलका सदस्य सचिव छविन्द्र पराजुलीले हाल सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना प्रवाह हुने क्रम बढेकाले आम जनमानसमा दुविधा पैदा भएको बताउनुभयो । उहाँले जनतामा सत्य–तथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।
मधेश प्रदेश आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्काले मधेश प्रदेशमा पत्रकारिताको हकहितका लागि ऐन तथा नियमावली निर्माण भई कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुभयो । उहाँले लोककल्याणकारी विज्ञापन र तालिमको व्यवस्थाले पत्रकारको क्षमता विकासमा सहयोग पुगेको बताउँनुभयो । साथै विश्वविद्यालयसँगको समन्वयमा उच्च शिक्षामा आमसञ्चार विषय समावेश गरिएको समेत जानकारी दिनुभयो । त्यस्तै, प्राधिकरणका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादवले प्रदेशमा भएका सुधारका कार्यको चर्चा गर्दै प्रेस काउन्सिलकै आचारसंहिताको ढाँचामा स्थानीय भाषा सुहाउँदो आचारसंहिता तयार पारिएको बताउनुभयो ।
लुम्बिनी प्रदेशका प्रदेश सचिव विनोद लामिछानेले कानुनी अस्पष्टताका कारण कार्यसम्पादनमा विभिन्न अड्चन आएको बताउँदै सङ्घीय सरकारले कानुन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशकी प्रेस रजिस्टार विमला भण्डारीले नयाँ मिडिया र सामाजिक सञ्जाललाई परिवर्तनको मुख्य हिस्साका रूपमा स्विकार्दै यसलाई नियमनको दायरामा ल्याउन आवश्यक बहस हुनुपर्ने धारणा राख्नुभयो ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी उपसचिव सविना महर्जनले प्रदेशमा सञ्चार समन्वय समिति गठन भइसकेको र सञ्चार सम्बन्धी कानुन निर्माणको प्रक्रियामा रहेको जानकारी दिनुभयो । साथै पत्रकारको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ थियो ।
बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती प्रसाद सापकोटाले सञ्चार माध्यमलाई हेर्ने सत्ताको दृष्टिकोणमा परिवर्तन हुनुपर्ने बताउनुभयो । झन्झटिलो कानुन र ऐन संशोधन गरी पत्रकारितालाई सहज र मर्यादित बनाउनु पर्नेमा जोड दिँदै उहाँले बागमती प्रदेशले प्रकाशन गरेका पुस्तकहरू उच्च शिक्षा अध्ययनमा समेत प्रयोग हुनु सकारात्मक सुरुवात भएको उल्लेख गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले प्रेस काउन्सिल र प्रदेशबीच सल्लाह र सहकार्यका साथ काम हुनुपर्ने बताउनुभयो । यस्ता छलफलले प्रदेश र सङ्घबीचको समन्वयलाई थप मजबुत बनाउने र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उहाँले जनाउनुभयो ।
कार्यक्रममा सहभागीहरूले प्रदेशबाट जारी गरिने प्रेस पास देशभर मान्य हुनुपर्ने र कानुनी अड्चन फुकाएर पत्रकारितालाई थप विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका थिए । काउन्सिलका बोर्ड सदस्य बालकृष्ण अधिकारीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2026/04/17/11685/, www.presscouncilnepal.gov.np
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १७, बिहीबार १८:४९प्रेस काउन्सिल नेपालमा स्तनपान कक्ष र महिलामैत्री शौचालय स्थापना
समाचार२०८३ बैशाख १७, बिहीबार ०१:१८पोखरामा तीन दिनसम्म जेसीज सप्ताहन्त, युवाका लागि विभिन्न कार्यक्रम
समाचार२०८३ बैशाख १६, बुधबार १९:२१श्रम कानून तथा श्रमसम्बन्धी अन्तरक्रिया
समाचार२०८३ बैशाख १६, बुधबार १९:०७दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड वैशाख ३१ मा, ९ विधामा सम्मान गरिने








